१० श्रावण २०८१, बिहीबार

शिक्षक पेशागत सहयोग तालिम शुरु



धनगढी । शिक्षा तालिम केन्द्र, दिपायलको आयोजनामा शिक्षक पेशागत सहयोग सम्वन्धि ५ दिने तालिम अाइतबार धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा शुरु भएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयद्धारा संचालित राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत संचालित उक्त तालिम प्रारम्भिक तहका तालिम प्राप्त शिक्षकहरुको एकीकृत पेसागत विकासका लागि शिक्षकहरूलाई निरन्तर रूपमा स्थलगत पेसागत सहयोग प्रदान गरी प्रारम्भीक तहको पढाई प्रवर्धन र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्धेश्यले आयोजना गरिएको हो ।

तालिममा गोदावरी नगरपालिका ५६ वटा र धनगढी उपमहानगरपालिकाका ७३ वटा विद्यालयका प्रावि तहका प्रधानाध्यापक र माविका प्रावि ईन्चार्जहरुको सहभागीता रहेको छ । कार्यक्रमको उद्धेश्य माथि राष्टिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम कैलालीकी जिल्ला संयोजक उषा जोशीले प्रकाश पार्नुभएको थियो ।

तालिम उद्धघाटन सत्रका प्रमुख अतिथी गोदावरी नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्री थिए भने कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय प्रवन्धक रामदास चौधरी, नेपाल शिक्षक महासंघका अध्यक्ष भिम वलाएर, शिक्षा तालिम केन्द्रका प्रशिक्षक लाल वहादुर कठायत, दुर्गालक्ष्मी माविका शिवराज जोशी लगायतकाले मन्तव्य व्यक्त गरे ।

धनगढीमा संचालित ५ दिने तालिममा गोरखनाथ, यज्ञराज पाण्डेय, पदमा उप्रेती र गोदावरीमा पदम खड्का, भजन शाह र धर्मराज जोशीले प्रशिक्षण दिइरहेका छन् । तालिम उद्धघाटन सत्र शिक्षा तालिम केन्द्र, दिपायल डोटीका तालिम प्रमुख चेतराज पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त तालिम कैलाली जिल्लाको १३ वटा स्थानिय तहमा रहेका ५६५ वटै विद्यालयहरुको सहभागीतामा १७ वटा कलस्टरमा संचालन गरिने अवसरमा जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार