१० श्रावण २०८१, बिहीबार

दलितको नाममा आएको रकममा चलखेल– दलित अगुवाहरू



बैतडी । दलित अगुवाहरूले बैतडीको दशरथचन्द नगरपालिकाले दलित समु्दायका नाममा आएको रकममा चलखेल गरिरहेको आरोप लगाएका छन् । दलित अगुवाहरूले दशरथचन्द नगरपालिकाको बैशाख १६ गतेको कार्यपालिका बैठकबाट दलित समुदायको लागि बिनियोजित बजेट अन्यत्रै खर्च गर्न लागेको भन्दै खबरदारी गरेका छन् । उनीहरूले दलित समुदायको क्षमता विकासको लागि संघीय अर्थ मन्त्रालय मार्फत स्वीकृत तीन करोड रुपैया लक्षित कार्यक्रममै खर्च गर्न माग गरेका छन् ।
दलित अगुवाहरूले विशेष अनुदान कार्यविधि, २०७५ र बजेट माग गर्दा आफैले गरेको सिफारिसलाई तोडमरोड गर्न खोजेको आरोप लगाएका छन् ।
शनिबार विभिन्न संघसंस्थाको संयुक्त बैठकपछि जारी विज्ञप्तीमा “सो बजेट दलित समुदायको क्षमता विकासमा खर्च गर्न” माग गरिएको छ ।
विज्ञप्तीमा नेपाल उत्पीडित मुक्ति समाज, बैतडीका अध्यक्ष बलभद्र दयाल, नेपाल दलित संघ बैतडीका अध्यक्ष रमेश कोली, नेपाल दलित मुक्ति मोर्चा बैतडीका अध्यक्ष भुवन चुनारा, नागरिक समाज बैतडीका अध्यक्ष कर्ण दयाल, दलित गैरसरकारी संस्था बैतडीका अध्यक्ष राजुराम भुल र अधिकारकर्मी सरस्वती नेपालीको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार