१२ बैशाख २०८२, शुक्रबार

वादीको घरमा लगाएको ताला खोलियो



बझाङ । ऋण तिर्न नसकेको भन्दै बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुर बस्ने विपन्न तथा गरिब सुरेन्द्र बादीको घरमा साहूले लगाएको ताला खोलिएको छ ।
बादीले तिन बर्ष अगाडी ऋण तिर्न नसके पछि साहूले लगाएको ताला वडा अध्यक्ष दल बहादुर बिष्टसंग ऋण तिर्ने सहमती भए पछि बादीको घरमा लगाएको ताला खोलिएको हो ।
पढाई, घर खर्च र विवाह गर्दा आफुसंग पैसा नभएपछि चैनपुरकै लक्ष्मी सुनार वाट दश वर्ष अगाडी सुरेन्द्र बादीले तिस हजार ऋण लिएका थिए भने अहिले साँवा व्याज जोडेर साहुको ७३ हजार तिर्नु बाँकी छ । सुरेन्द्र बादी अहिले घरमा छैनन् । उनी बस्ने घर साहू लक्ष्मी सुनारले सुरेन्द्रले पैसा तिर्नु छ भनेर ताला लगाएको थियो । सुरेन्द्रका भाई कमल बादी घरमा साहूले ताला लगाएपछि अर्कोको घरमा बस्दै आएका थिए ।
ऋण तिर्न नसकेर साहुले सुरेन्द्रको घरमा जस्तै अरुको घरमा ताला लगाएको त थिएन तर ऋण नतिरे घरमा ताला लगाई दिन्छु भनेर साहुहरुले धम्काउदै आएको बादीहरु वताउँछन् । मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सूर्य बहादुर केसी, जयपृथ्बी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्ट र पत्रकारहरुको रोहबरमा साहू लक्ष्मी सुनारले छ महिना अगाडी लगाएको ताला खोलेको हो । बादीहरुले लिएको सबै ऋण बादी उत्थानका लागी सरकारले दिएको अनुदानबाट तिर्ने सहमती समेत भएको छ । जयपृथ्वी नगरपालीका १० का वडा अध्यक्ष दल बहादुर विष्ट भने ‘बादी समुदायको सबै ऋण तिर्नका लागी पहल भई रहेको छ, हामी सबै सरोकारबाला निकायको रोहबरमा ऋण चुक्ता गरिदिन्छौ ।’
१३ परिवारको बसोवास रहेको चैनपुरका बादीहरुको स्थानीय ६ जना सुनार साहुको सात लाख ७० हजार जती ऋण रहेको छ । सानो तिनो मजदुरी गर्ने र गाउँ घरमा मागेर विहान बेलुकाको छाक टार्ने बादीहरुले साहुहरुको सानो तिनो ऋण समयमै तिर्न नसक्दा व्याज स्याज बढ्दै गएपछि विस तिस हजार ऋण नभएको कोहि अछुतो छैन ।
नेपाल सरकारको जनता आवास कार्यक्रमवाट अहिले बादीहरुका घर र्निमाण गरिदिए पछि साहुहरुले आफ्नो ऋण असुल गर्नु पर्ने र नत्र नयाँ घरमा आफुहरु ताला लगाई दिने धम्की दिएपछि बादी समुदायको ऋणको कुरा सार्बजनिक भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने ‘बादी समुदायका केही ब्यक्ति मदिरा सेवन गर्ने परिश्रम नगर्नाले बादी समुदायको बालबालिकाको भबिस्य समेत अन्यौलमा रहेको छ र हामीले साहू संग ऋण तिर्ने सहमती पछि घरमा लगाएको ताला खोलेका छौ ।’
बादीहरुका लालपुर्जा धरौटीमा राखेर साहू हरुले व्याजमा पैसा दिएका थिए । चैनपुरका धर्म बादीले भनिन, ‘१०/१५ हजारसम्म ऋण लिएका हौ तर साहूहरुले व्याज स्याज थपेर बढी बनाएको दुखेसो छ । सुनार जाती हरुको अगाडी डरले भन्न बोल्न नसक्ने वादीहरु साहूहरुको जवरजस्तीले तमसुकमा समेत ल्याप्चे गरेको बादीहरु वताउँछन् । बादीहरुको तमसुल कागज बमोजिम लक्ष्मी सुनारको ४ लाख ४५ हजार बादीहरुले तिर्नु तमसुलमा उल्लेख छ । यसका साथै भुजीदेवी सुनारको ९३ हजार ८ सय, सानु चित्रकारको ४६ हजार, नरेश चित्रकारको ९ हजार ५ सय छ । साथै रामगिरी सुनारको ४ हजार ६ सय छ । यता राधीका सुनारको १ लाख ७१ ह्जार ५ सय गरि ७ लाख ७० हजार बादीहरुले तिर्नु पर्ने रहेको साहू लक्ष्मी सुनारको भनाई छ । उनले भनिन ‘बादीहरुले विरामी हुँदा, विवाह गर्दा अन्य चाड पर्वमा खर्च भनेर मागेको हो समयमै नदिएपछि व्याज थपीएर केहि पैसा बढ्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार