१० श्रावण २०८१, बिहीबार

घोडाघोडीमा आत्महत्याका घटनामा बृद्धिः चार वर्षमा दुई सय बढि आत्महत्या



सुखड । कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रमा पछिल्ला वर्षहरूमा आत्महत्याका घटनामा डरलाग्दो ढंगले बृद्धि भएको छ । इलाका प्रहरी कार्यालय सुखडको तथांक अनुसार पछिल्लो चार वर्षको अवधिमा दुई सय बढीले आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार आर्थिक वर्ष २०७२/२०७३ मा ४८ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७३/२०७४ मा ५१ जना तथा आर्थिक वर्ष २०७४/२०७५ मा ५३ जनाले आत्महत्या गरेका छन् ।
त्यसैगरी चालू आर्थिक वर्ष २०७५/२०७६ को बैशाख १५ गतेसम्म घोडाघोडी नगरपालिका क्षेत्रमा ७२ जनाले आत्महत्या गरेका छन् । प्रहरी कार्यालयको तथ्यांक अनुसार थारु तथा दलित समुदायमा आत्महत्याका घटना तुलनात्मक रुपमा बढि छन् ।
इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले डरलाग्दो ढंगले बृद्धि भइरहेको आत्महत्याका घटना न्युनिकरण गर्न गाउँगाउँमा जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले जनप्रतिनिधि, बिभिन्न सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, विद्यार्थी, शिक्षक, बुद्धिजीवी, समाजसेवी सबैले आत्महत्या न्युनिकरणका लागि समन्वयात्मक ढंगले पहल गर्नुपर्ने बताए ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले नगरपालिकाको आगामी वर्षको बजेटमार्फत आत्महत्या न्युनिकरणका लागि शैक्षिक परामर्श, मनोमरामर्श अभियान सञ्चालन कार्यक्रम समावेश गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार