२० आश्विन २०८१, आईतवार

चुरेमा पूर्ण सरसफाई महिनावारी स्वच्छता सम्मेलन



धनगढी । स्वास्थ्य इज्जत र प्रतिष्ठाका लागि पूर्ण सरसफाई भन्ने मूल नाराका साथ कैलालीको चुरे गाउँपालिकामा दुई दिने पूर्ण सरसफाई, महिनावारी स्वच्छता र पोषण सम्मेलन आयोजना गरिएको छ ।

चुरे गाउँपालिका तथा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले पूर्ण सरसफाई, महिनावारी स्वच्छता र पोषण सम्बन्धी सम्मेलनले आगामी वर्षका लागि कार्य योजना बनाई प्रभावकारी रुपमा लागू गर्न सके सार्थकता पाउने विश्वास व्यक्त गरे ।
उनले ग्रामिण भेगमा अझै पनि परम्परागत रुढीवादी चिन्तन रहेकोले त्यसको अन्त्य गर्नका लागि सबैको सहयोग आवश्यक भएको बताए । उनले गाउँपालिकालाई पूर्ण सरसफाई, महिनावारी स्वच्छता र पोषण सम्बन्धी विशेष नीति ल्याएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री सुवेदीले चुरे गाउँपालिकाका छ वटै वडाका सरोकारवाला निकायको सहयोगमा पूर्ण सरसफाई अभियान संचालन गरी अघि बढ्नु पर्ने बताए । कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले गाउँपालिकालाई पूर्ण सरसफाई, महिनावारी स्वच्छतालाई मर्यादित बनाउन सम्मेलन सार्थक बन्ने विश्वास व्यक्त गरे । सम्मेलनले पूर्ण सरसफाई, महिनावारी स्वच्छता र पोषण सम्बन्धी जारी भएको घोषणापत्र कार्यान्वन गर्न गाउँपालिका प्रतिवद्ध रहने जनाए ।
गाउँपालिकाका उपाध्यक्ष दीपा देवी साउँले चुरे गाउँपालिकामा छाउपडी प्रथाले जरागाडेको भन्दै त्यसलाई निरुत्साहित पार्न नीति नै बनाएर कार्यान्वन गर्न आवश्यक भएको बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले पूर्ण सरसफाई, महिनावारी स्वच्छताका लागि आगामी वर्षमा कार्य योजना बनाइरहेकोले पूर्ण सरसफाईमा विशेष सहयोग पुग्ने बताए । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका विष्णु पोखरेलले पूर्ण सरसफाई, महिनावारी स्वच्छता र पोषण सम्बन्धी पहिलो सम्मेलन चुरे गाउँपालिकामा भएको बताए । उनले सम्मेलनले घोषणापत्र जारी गरी गाउँपालिकास्तरीय खानेपानीको विश्लेषण गरिन, पूर्ण सरसफाईको सूचकांक तयार गरी कार्यायोजना बनाएर अघि बढ्ने जनाए ।
चुरे गाउँपालिकाका प्राविधिक चन्द्रदेव भट्टले संचालन गरेको कार्यक्रममा नेकपाका प्रदेश सदस्य हरिशंकर योगीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चुरे गाउँपालिकाका छ वटै वडाका वडाध्यक्ष, सदस्यहरु, कार्यपालिकाका सदस्य तथा सरोकारवाला निकायका व्यक्तिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार