आँखा स्वास्थ्य शिक्षा
आँखा पाक्ने रोग
यो गर्मीयाममा सरसफाईको अभाव, धुलो र धुवाँको कारणले र संक्रमित व्यक्तिबाट विभिन्न माध्यमबाट सर्न गई प्रायः धेरैजसोलाई आँखा पाक्ने रोगको समस्या देखा पर्न सक्छ । यो आँखा पाक्ने रोग हेर्दा सामान्य लागे पनि समयमै उपचार वा हेरचाह गर्न नसके अथवा हेलचक्राई हुन गएमा सधैको लागि दृष्टिबिहीन बनाउन पनि सक्छ ।
आँखा पाक्ने रोगलाई नेपालीमा आँखा दुख्नु, आँखा पाक्नु, रातो आँखा आदि नामले र अंग्रेजीमा Red Eye, Pink Eye वा conjonctivites (कंजंक्टिभाइटीस) आदि नामले चिनिन्छ । आँखामा सबैभन्दा बढी मात्रामा लाग्ने रोग पनि आँखा पाक्ने रोग नै हो । यो रोग गर्मी महिनाहरूमा बढी लाग्ने हुनाले र अहिले गर्मी मौसम नै चलिराखेको साथै सडक निर्माण कार्यमा भएको ब्यापकताले यस आ“खा पाक्ने रोगका प्रमुख किसिम, यसबाट हुन सक्ने खतरा, यसको रोकथामको उपाय र आँखा पाकेको खण्डमा अपनाउनु पर्ने उपायबारे जानकारी लिनु अति आवश्यक छ ।
हाम्रो आँखाको गेडीको सेतो भागलाई एउटा पातलो पारदर्शक र हल्का गुलाफी रंगको भिजेको झिल्लीले ढाकेको हुन्छ, जसलाई अंग्रेजीमा कन्जङटाइभा भनिन्छ । यसै कन्जङटाइभा नामक झिल्लिको संक्रमणलाई नै आँखा पाक्नु भनिन्छ । हाल गर्मी बढेसंगै यस किसिमका आँखाका रोगीहरूको संख्या बढ्दै गईरहेको छ ।
आँखा पाक्ने रोग मुलतः तीन कारणबाट लाग्दछ ।
१) व्याक्टेरीयाको संक्रमणबाट
२) भाइरसको संक्रमणबाट र
३) पित्त अर्थात् एलर्जीको कारणबाट
१. व्याक्टेरियाको संक्रमणबाट आँखा पाक्ने रोग
आँखा पाक्ने रोग अन्य कारणबाट भन्दा व्याक्टेरियाको संक्रमणबाट बढि मात्रामा लाग्ने गर्दछ । यो एक सरुवा रोग हो । व्याक्टेरियाको संक्रमणद्वारा आँखा पाक्दा निम्न लक्षण देखा पर्दछन् ।
आँखामा भुस वा धुलो परे जस्तो गरेर बिझाई राख्ने
आँखा रातो भई अलिअलि सेतो वा पहेलो चिप्रा वा कचेरा लाग्ने
एउटा आँखामा शुरु भई चाडै नै दोस्रो आँखामा पनि सर्ने
बिहान उठ्दा चिप्रा वा कचेराले आँखा टालिने
आँखाका ढकनीहरू सुन्निने
आँखा अलिअलि चिलाउने आदि लक्षणहरू देखा पर्दछन् ।
व्याक्टेरियाको संक्रमणवाट आ“खा पाक्ने रोग शुरु भएको तीनदेखि चार दिनमा चरम अवस्थामा पुग्दछ र त्यसपछि बिस्तारै घटेर निको हुदै जान्छ ।
२. भाइरसको संक्रमणबाट आँखा पाक्ने रोग
यो प्रमुख रुपमा अस्वस्थ्यकर वातावरणमा रहनसहन गर्ने समुदायमा बढी मात्रामा लाग्ने गर्दछ र बिस्तारै एकबाट अर्कोमा सर्दै गएर व्यापक रुप लिने गर्दछ । यो रोग लाग्दा एक्कासी आँखा रातो हुने, शुरुमा आँसु आउने र बिझाउने गर्दछ र केहि समयपछि आँखाको ढक्कन सुन्निने र उज्यालोमा हेर्न अफ्ठेरो हुन सक्दछ । यसमा कहिलेकाँही आँखाको नानीमा घाउ समेत हुन सक्छ । यो रोग लागेको कसै कसैको आँखाको सेतो भागमा रक्तस्राावका धब्बाहरू पनि देखा पर्न सक्दछन् । केटाकेटीहरूमा भाइरसको संक्रमणबाट आँखा पाक्दा कान वरीपरिका लिम्फ ग्रन्थीहरू सुन्निने र ज्वरो आउने समेत हुनसक्छ । यो रोग करिब दुई हप्तामा निको भएर जान सक्छ । तर, यस्ता लक्षणहरू देखापरेमा सकभर चाडो आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा जाँच जचाएर औषधि उपचार गर्नुपर्ने हुन्छ ।
३. पित्त अर्थात् एलर्जीले गर्दा आँखा पाक्ने रोग
यो पनि प्रायः दुवै आँखामा लाग्ने गर्दछ र अधिकांस अवस्थामा आँखा निकै चिलाउने बिझाउने आँसु बग्ने बाक्लो धागो जस्तो लामो चिप्रा लाग्ने, रातो हुने गर्दछ र घाममा वा चर्को प्रकाशमा हेर्न अफ्ठेरो हुने गर्दछ । आँखामा पित्त अर्थात् एलर्जी रोग पनि प्रायः गर्मी महिनामा बढी लाग्ने गर्दछ र कम उमेरका पुरुष बच्चाहरूलाई बढी मात्रामा लाग्ने गरेको पाइएको छ ।
आँखा पाक्दा अपनाउनु पर्ने सतर्कताहरू
१) कुनै पनि कारणले आँखा पाक्दा आँखाको दृष्टिलाई कुनै असर पर्दैन अर्थात् आँखा पाकेको व्यक्तिले पहिले झैं सफा देख्ने हुन्छ । तर, यदि आँखा पाक्ने रोग चर्किदै गई आँखाको बाहिरी नानीलाई समेत असर गर्न पुग्यो भने त्यस्तो अवस्थामा दृष्टिमा बाधा पुगि आँखाले धमिलो देख्ने, उज्यालोमा हेर्न एकदमै अफ्ठेरो हुने र आँखा एकदमै दुख्ने हुन सक्दछ । यस्तो हुनु आँखाको आपतकालीन अवस्था हो अर्थात् तुरुन्त उचित उपचार नपाए आँखा बिग्रन सक्दछ । त्यसैले आँखाले धमिलो देख्ने र रातो भइ निकै दुख्ने भएमा तुरुन्त नजिकको आँखा उपचार केन्द्र वा आ“खा अस्पतालमा गई उपचार गराइ हाल्नु पर्दछ ।
२) नवजात शिशु जन्मेको एक महिनाभित्र आँखा पाकेर पीप जस्तो चिप्रा लागेमा तुरुन्त नजिकको आँखा उपचार केन्द्र वा आँखा अस्पतालमा लगेर उपचार गराई हाल्नु पर्दछ ।
३) आँखा पाकेको अवस्थामा आँखामा जडीबुटी हालेमा वा आफुखुशी औषधि पसलबाट औषधि किनेर हालेमा आँखा निको नभएर उल्टै बिग्रन पनि सक्दछ । त्यसैले तालिमप्राप्त स्वास्थ्यकर्मी वा आँखा स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र आँखामा औषधी हाल्ने गर्नु पर्दछ । जथाभावी आफुखुशी जडिबुटी वा आफुखुशी किनेर हालेको औषधीका कारण हाम्रो देशमा धेरैले दृष्टि गुमाउनु परेको पनि तथ्यांकले देखाएको छ ।
आँखा पाक्ने रोगको रोकथाम
ब्याक्टेरिया र भाइरसको संक्रमण खासगरी व्यक्तिगत र वातावरणीय सरसफाईको कमीका कारण हुने र झिंगा, हातका औंला, लुगाफाटो आदिको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । यसकारण यस्ता संक्रमणहरूबाट बच्नका लागि दिनहु दुई/तीन पटक आँखा र मुख सफा पानीले धुने, व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिने, आँखा र मुख पुछ्न छुटटाछुटटै रुमाल वा तौलियाको प्रयोग गर्ने, आ“खा पाकेको व्यक्तिहरूसंग सकेसम्म लसपस नगर्ने । अरुलाई सर्नबाट बचाउन आँखा पाकेको व्यक्तिहरूले विद्यालय वा कार्यालय नगई घरमै छुट्टै कोठामा आराम गरी औषधि उपचार गर्ने गर्नुपर्दछ ।
वातावरणीय कारण अर्थात् धुँवाधुलो आदिबाट आ“खामा हुने पित्त अर्थात् एलर्जीको रोकथाम गर्नका लागि पनि दिनमा तीन/चार पटक आँखा र मुख राम्ररी धुने गर्नु पर्दछ ।
आँखा पाक्ने रोगको उपचार
ब्याक्टेरिया वा भाइरसको संक्रमणबाट आँखा पाकेको खण्डमा आँखा पटकपटक धोएर चिप्रा वा कचेरा आँखामा जम्मा हुन नदिने र आँखामा हाल्ने एण्टीबायोटीक झोल दुई/दुई घण्टाको फरकमा र एण्टीबायोटिक मलहम औषधी राती सुत्दा प्रयोग गर्ने । यदि दुई, तीन दिनमा पनि सुधार नभएमा वा दृष्टिमा बाधा पुगेर धमिलो देख्न थालेमा तुरुन्त नजिकको आँखा उपचार केन्द्र वा आँखा अस्पतालमा गई उपचार गराई हाल्नु पर्दछ । आँखामा पित्त वा एलर्जी भएका व्यक्तिले चिसो पानीले पटकपटक आँखा धुनाले र बरफ वा चिसो पानीले सेक्नाले आँखालाई फाइदा हुन्छ औषधी चाहि चिकित्सकको सल्लाह अनुसार नै हाल्नु पर्ने हुन्छ ।
हाम्रो देशमा आँखा रातो भएमा वा कुनै समस्या परेमा आफुखुशी औषधी किनेर हाल्ने गरेको पाइएको छ । यसैले जथाभावी औषधीको प्रयोगबाट आँखामा हुनसक्ने कुप्रभावहरू थाहा पाईराख्न जरुरी छ ।
हाल बजारमा पाइने विभिन्न आँखाका औषधीहरू मध्ये थुप्रै औषधी नेत्र चिकित्सकको पुर्जा बिना जथाभावी प्रयोग गरिएमा आँखा सधैंका लागि दृष्टिबिहीन हुनसक्ने सम्भावना पनि रहन्छ । धेरैजसो आँखा रोगीहरू नेत्र चिकित्सकको पुर्जा बिना आफुखुशी आँखामा औषधी हालेर आँखा बिग्रिए पछि अन्तिम अवस्थामा मात्र आँखा अस्पताल वा नेत्र चिकित्सक कहाँ आउने गर्दा त्यस्ता बिरामीहरूको आँखा निको पार्न असम्भव हुनुका साथै तीमध्ये केहीको आँखा झिकेर फाल्नु पर्ने, केहीको आँखामा गहिरो फुलो बसेर सधैका लागि दृष्टिबिहीन हुने, कतिपयलाई अनावश्यक रुपमा जलबिन्दु तथा मोतिबिन्दु जस्ता रोग लागेर दृष्टिविहीन हुने आदि जस्ता विभिन्न जटिल विकृतिहरू उत्पन्न हुने भैराखेको र हाल आएर त्यस्ता बिरामीहरूको संख्या बढिरहेकोले आँखामा कुनै पनि रोग लागेको शंका लागेमा वा आँखा रातो हुने, चिलाउने, बिझाउने, बढि चिप्रा लाग्ने भएमा तुरुन्तै नेत्र चिकित्सकको सल्लाह लिएर आवश्यक उपचार गर्नु पर्दछ ।
यस्तो समस्या छ भने समयमै आँखा अस्पतालमा आएर आँखा जचाउनुहोस् । थाहा पाई राखौं, नेपाल नेत्रज्योति संघ अन्तर्गत कैलालीमा गेटा आँखा अस्पताल, धनगढी बुद्ध मन्दिर, टीकापुर र भजनी, कञ्चनपुर जिल्लाको महेन्द्रनगर र बेलौरी, डोटीको सिलगढी, बैतडीको पाटन र गोठलापानी, डडेल्धुराको डडेल्धुरा, अछामको साँफेबगर, बझाङको चैनपुर, दार्चुलाको खलंगा र बाजुराको मार्तडीमा रहेका आँखा उपचार केन्द्रहरूमा गएर आँखा जचाउन सक्नु हुन्छ । आँखाको ज्योति गुम्यो भने फेरि फर्काउन सकिदैन । यसैले आँखा जचाउने कार्यमा ढिलाई नगर्न अनुरोध छ ।
(भट्टराई गेटा आँखा अस्पताल, गेटाका बरिष्ठ नेत्र अधिकृत हुन्)