गाईमारे टेम्पो प्रकरणः सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन
धनगढी, असार १ — कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाबारे छानबिन गर्न प्रदेश सरकारले समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएसँगै सरकारले तथ्य खोजी प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको वास्तविक अवस्था अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने अभियानका क्रममा एउटा टेम्पो भिरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो। उक्त दृश्य सार्वजनिक भएसँगै घटनाले व्यापक जनचासो र आलोचना बटुलेको थियो।
घटनाको सत्यतथ्य बाहिर ल्याउन र जिम्मेवार पक्षको पहिचान गर्न प्रदेश सरकारले औपचारिक छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ। सचिव कोइरालाले मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै छानबिनबाट दोषी देखिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने बताए।
यसैबीच, घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। छानबिन समितिको प्रतिवेदनपछि घटनाको वास्तविकता र जिम्मेवारीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।




