१० श्रावण २०८१, बिहीबार

समायोजनको विरोधमा चिकित्सक आन्दोलित



धनगढी । कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरु आन्दोलित भएका छन् ।

शुक्रबारबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने कार्यक्रम भएपनि यस प्रदेशमा आंशिक रुपमा आकस्मिक सेवा ठप्प पारिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले जनाएको छ ।
चिकित्सक संघका प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीले भने –‘अस्पतालमा धेरै टाढाबाट उपचारका लागि सेवाग्राहीहरु आएकाले हामीले आंशिक रुपमा बन्द गरेका छौं । आईतबारबाट पूर्ण रुपमा ठप्प गरिने छ ।’
संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ । माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने बताएका छन् ।
सुदूरमा पूर्ण डाक्टर अभाव हुने
संघीय सरकारले कर्मचारी समायोजनको सूचि सार्वजनिक गरेपछि यस प्रदेशमा पूर्ण चिकित्सक अभाव हुने देखिएको छ ।
सुदूरपश्चिभरी रहेका सरकारी अस्पतालमा अव दुई जना मात्रै सरकारी डाक्टर रहने भएका छन् । संघीय सरकारमा रहेको साविकको उप क्षेत्रीय अस्पताल र अहिले डडेल्धुरा अस्पताल बाहेक अन्य सबै अस्पतालमा अव दुई जना डाक्टर मात्रै सरकारी डाक्टर रहने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेकोमा सुदूरपश्चिम प्रदेशमा २ जना डाक्टरको मात्रै समायोजन भएको छ । सेती अञ्चल अस्पतालमा कार्यरत १० औ“ तहका डाक्टर खगेन्द्र भट्ट र ९ औ“ तहका डाक्टर जगदिश जोशीको मात्रै सुदूरपश्चिम प्रदेशमा समायोजन भएको छ भने उनीहरुको पनि कुन अस्पतालमा समायोजन हुन टुङगो लागेको छैन् ।
मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १० औं तहको सूची सार्वजनिक गरेकोमा सुदूरपश्चिमभरी सुदूरपश्चिम भरी रहेका सरकारी डाक्टरमा २ जना बाहेक सबैको संघीय सरकारमा समायोजन भएको छ । संघीय सरकार अन्तरगत सुदूरपश्चिममा एउटा मात्रै डडेल्धुरा अस्पताललाई राखिएकाले सुदूरपश्चिमका अन्य अस्पताल भने डाक्टर विहिन हुने भएका छन् । अन्य २ वटा अञ्चल सेती र महाकाली, ६ जिल्ला र अन्य ४ वटा जिल्ला स्तरीय अस्पताल गरि १२ वटा अस्पताल भने प्रदेश सरकारको मातहतमा रहेका छन् ।
१२ वटा अस्पतालमा दुइ जना मात्रै सरकारी डाक्टर समायोजन हुने भएकाले बढिमा २ अस्पतालले मात्रै सरकारी डाक्टर पाउने देखिएको सरकारी डाक्टर संघ गोदानका सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतमले बताए । सुदूरपश्चिमभरी रहेका अस्पतालमा अहिले विकास समिति पनि नहु“दा अस्पतालहरु धरासयी हुने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार