१० श्रावण २०८१, बिहीबार

बडैपुरमा निःशुल्क स्वास्थ्य शिविर



महेन्द्रनगर । भीमदत्त नगरपालिका–१३ वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

वडा कार्यालयले महाकाली अञ्चल अस्पतालको सहयोगमा पाठेघर र फिस्टुला खस्ने रोगीको स्क्रिनिङ्ग तथा उपचारका लागि शिविर आयोजना गरेको हो । बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयको प्राङ्गगणमा सञ्चालन गरिएको शिविरमा वडा नं. १३ का सहित छिमेकी वडाका वासिन्दा स्वास्थ्य सेवा लिन आएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शिविर उद्घाटन गर्दै स्वास्थ्य सेवालाई सबै वासिन्दाको पहुँचमा पुगाउने नगरपालिकाको नीति अनुसार शिविर सञ्चालन गरिएको बताए । ‘संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा राखिएको छ, त्यस अनुसार भीनपा सबै नगर वासिन्दालाई घरदैलोमा सेवा पुगाउन शिविर आयोजना गरिएको छ’ उनले भने,‘ यसलाई निरन्तरता दिएर जान्छौ ।’

नगर प्रमुख विष्टले भीनपाका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने जानकारी दिए । ‘स्थानीय तह निर्वाचनपछि वासिन्दालाई घरदैलोमा सेवा पुगाउन शिविर आयोजना गरेका छौ, यस वर्ष पनि त्यसलाई निरन्तरता दिएर जान्छौ’ उनले भने ।

स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले नगरपालिकाको दुर्गम क्षेत्र खल्ला टुँडीखेलमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । टुँडीखेलको गाउँघर क्लिनिकलाई २४ सै घण्टा सञ्चालन गरी स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराएका छन् । स्थानीय तह निर्वाचनपछि गत वर्ष नगरपालिकामा सबै वडामा एकीकृत स्वास्थ्य अभियान अन्तरगत शिविर आयोजना गरिएका थिए ।

यसैगरी वडामा स्वास्थ्य चौकी स्थापना समेत गरिएका छन् । नगर प्रमुख विष्टले महाकाली अस्पतालका लागि गुरुयोजना बनाएर अस्पताललाई हस्तान्तरण गरि सकेका छन् । भीनपा वडा नं. १३ का अध्यक्ष लालबहादुर शाहीको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर कार्यपालिका सदस्य प्रताप तिरुवा, वडा सदस्य लगायतका सहभागी भएका छन् ।

वडा अध्यक्ष शाहीले स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसकिने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको बताए । शिविरबाट तीन सय जनाले सेवा लिने अपेक्षा गरिएको छ । शुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा स्थानीय महिलाहरुले खुशी समेत व्यक्त गरेका छन् ।

महाकाली अञ्चल अस्पतालका डा. धिरज जोशी सहित स्वास्थ्यकर्मीले शिविरमा स्वास्थ्य जाँच गरि रहेका छन् । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले शिविर सञ्चालनमा प्राविधिक सहयोग गरेको उप शाखा संयोजक भीम सिह महराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार