१८ पुष २०८१, बिहीबार

सम्पादकीय: प्रेरणादायी कार्य



कुनै पनि कारणले परिवार विछोड भएर सडक जीवन बिताउन बाध्य तथा मानसिक सन्तुलन गुमाएर सडकमा भौतारिरहेका महिलालाई उद्दार गरेर तथा आश्रय दिएर उनीहरुको लालनपालन, उपचार तथा परिवारसंग पुनर्मिलनगराउने कार्यमा तल्लीन धनगढीको दृष्टि फाउण्डेशन निःस्वार्थ भावले निश्चय पनि परोपकारको क्षेत्रमा क्रियाशील सामाजिक संस्थाका रुपमा आफूलाई स्थापित गरिरहेको छ । स्थापनाको एक वर्षको अवधिमा मानसिक सन्तुलन गुमाएका छत्तीस जना सडक महिलाको उद्दार गरेर सेफ हाउसमा लालनपालन गर्नुका साथै एघार जनालाई उनीहरुको परिवारसंग पुनर्मिलन गराउन सफल हुनु आफैंमा उल्लेख्य कार्य हो भन्नेमा द्विविधा रहदैन । मानसिक सन्तुलन बिग्रेका महिलालाई उद्दार गरेर सुरक्षित ढंगले राख्नु तथा उनीहरुको लालनपालन गर्नु पक्कै पनि दुरुह कार्य हो । त्यसैपनि परोपकार कार्य कठिन हुन्छ । घरघर धाएर दाताहरुसंग मुठ्ठिदान संकलन गरेर अनाथ, असहाय महिला, बालबालिका वा जोकोहीको पनि लालनपालन गर्नु कठिन कार्य हुन्छ नै । बिना कुनै आर्थिक आधार यस्ता कार्यलाई निरन्तरता दिन ठूलो आ“ट, धैर्य र दृढनिश्चयको खाचो हुन्छ । त्यसैले पनि दृष्टि फाउण्डेशनले गरिरहेको सामाजिक सेवाको कार्य सबैका लागि प्रेरणादायी बनेको छ भन्नेमा विमति रहदैन ।
सामाजिक सेवाको कार्यको निरन्तरताका लागि ठूलो धैर्य र अठोट चाहिन्छ नै । सामाजिक सेवाको बहानामा गलत कार्य समेत गर्न पछि नपर्ने संघसंस्था तथा व्यक्तिहरुका कारण पवित्र सेवाभावसहित परोपकार कार्यमा लागेका व्य्िक्त तथा संस्थाले समेत कहिलेकाही समाजबाट आइलाग्ने आलोचनाको पनि सामना गर्नुपर्ने हुन्छ । त्यस्तै, कतिपयले कुनै पनि सामाजिक सेवा कार्यमा समेत खोट देख्ने गरेका हुन्छन् । र, सरकारी वा गैरसरकारी क्षेत्रबाट सञ्चालनमा रहेका कतिपय सामाजिक सेवा कार्यक्रममा गलत क्रियाकलाप, आर्थिक अनियमिता समेत हुने गरेका थुप्रै घटना र उदाहरण छन् । यी र यस्तै, थुप्रै चुनौतिको सामना गर्दै आफूले लिएका लक्ष्य र उद्देश्यमा अडिक रहेर एकलव्य भावका साथ आफ्नो कामलाई निरन्तरता दिनुपर्ने हुन्छ । त्यस्तै, निःस्वार्थ भावले सामाजिक सेवाको क्षेत्रमा अनवरत जीवनपर्यन्त खट्ने व्यक्तिहरुको संख्या निकै थोरै हुन्छ । दृष्टि फाउण्डेशनले आफूलाई कति वर्षसम्म जोगाएर सामाजिक सेवाको कार्यलाई निरन्तरता दिन्छ, भविष्यले नै मुल्यांकन गर्नेछ ।
अहिलेको मुख्य सवाल भनेको कुनै पनि कारणले परिवारबाट बाहिरिएका, अनाथ, असहाय, मानसिक सन्तुलन गुमाएका, सडक बालबालिका वा महिलाको उद्दार तथा लालनपालन, औषधोपचार, पढाईलेखाई आदि कार्यमा जुटेका संघसंस्था तथा व्यक्तिको प्रयासमा सबै पक्षबाट सहयोग, समर्थन र ऐक्यवद्धता नै हो । दृष्टि फाउण्डेशन जस्ता संस्थाको प्रयासमा स्थानीय, प्रदेश तथा संघीय सरकारका साथै सहयोग निकाय वा संस्थाहरुको बल पुग्ने खालका अनुदान वा सहयोगको वातावरण निर्माण गर्नु नै हो । कैलाली मै पनि अहिले केही संस्थाहरुले असहाय, अनाथ तथा असक्त बालबालिका, महिला लगायतको उद्दार, लालनपालन तथा पढाईलेखाईमा उल्लेख्य कार्य गरिरहेका छन् । त्यसैले पनि यी संस्थाहरुको प्रयासमा सबै तहका सरकार तथा समाजका सबै पक्षबाट सहयोग र समर्थनको वातावरण बनाउनु आवश्यक हुन्छ । दृष्टि फाउण्डेशन जस्ता संस्थाको प्रयासमा समाजका विभिन्न पक्षको सहयोग र ऐक्यवद्धताले यस्ता संस्थाहरुलाई अझ बढी पारदर्शी ढंगले सञ्चालन हुन बल पु¥याउछ भन्ने बोध गर्नु पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार