४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिममा महामारी व्यवस्थापनमा बिशेष सतर्कता



लक्ष्मीप्रसाद जैशी/धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले महामारी व्यवस्थापनमा विशेष सर्तकता अपनाउने भएको छ ।


मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा स्वास्थ्यसंग सम्बन्धित महामारीको जोखिममा रहेको भन्दै बिशेष सर्तकता अपनाउन लागको हो । विशेष गरी मन्त्रालयले गर्मी मौसम सुरुवातसंगै बर्षा याममा धेरै जस्ता झाडापखाला, हैजा, टाइफाइड, भाईरल ज्वरो जस्ता महामारी हुन सक्ने अवस्थाहरुलाई मध्यनजर गरेर कार्यक्रम अघि बढाउने भएको छ ।
‘हामीले प्रदेशका ९ वटै जिल्लाका स्थानीय तह, जिल्ला स्तरको द्रुत प्रतिकार्य टोली गठन गर्न लागेका छौं’ सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने, ‘हरेक स्थानीयतहका स्वास्थ्य चौकीमा औषधि पुर्ण व्यवस्था गरिहरेका छौं । अव पहिलेको जस्तो हुँदैन ।’
मन्त्रालयले प्रदेशका ८८ वटै स्थानीय तहमा, ९ वटै जिल्लामा जिल्लास्तरको स्वास्थ्य क्षेत्रको द्रुत प्रतिकार्य टोली र प्रदेशस्तरमा महामारी व्यवस्थापनको लागि प्रदेशस्तरको द्रुत प्रतिकार्य टोली समन्वय र सहजीकरण समिति गठन गरी महामारी व्यवस्थापनको लागि सांगठनिक सञ्जाल तयार पार्न लागेको छ ।
सो कार्यलाई व्यवस्थित गर्न मन्त्रालयले आफ्नो मातहतको स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेको छ । सामाजिक विकास मन्त्रालयले मन्त्री परिषद्बाट स्वीकृत गरी द्रुत प्रतिकार्य टोली गठन तथा संचालन निर्देशिका २०७५ समेत बनाएको छ ।
निर्देशिकामा भनिएको छ, ‘प्रदेशको कुनै स्थानीय तहमा महामारी भएको खण्डमा पहिलो तुरुन्तै प्रतिकार्य उक्त स्थानीय तहको द्रुत प्रतिकार्य टोलीले गर्ने छ । थप प्राविधिक र औषधिको आवश्यक सहयोग चाहिएमा जिल्लास्थित चिकित्सक सहितको द्रुत प्रतिकार्य टोली परिचालन गरिनेछ र थप आवश्यक सहयोग चाहिएमा प्रदेशस्तरको द्रुत प्रतिकार्य समितिले आवश्यक जनशक्ति यथाशिघ्र परिचालन गर्नेछ ।’
त्यस्तै स्थानीय तहमा सोहि स्थानीय तहकै द्रुत प्रतिकार्य टोली परिचालन गर्दा आर्थिक व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै ब्योहर्ने, थप सहयोगको लागि जिल्लास्थित वा अन्य स्थानीय तह वा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोली परिचालन गर्नु पर्ने भएमा सामाजिक बिकास मन्त्रालयले आर्थिक व्यवस्थापन गर्ने र सोही अनुसार आवश्यक औषधि व्यवस्थापनको लागि प्रादेशिक औषधि आपूर्ति केन्द्रलाई निर्देशन दिएको मन्त्रालयका स्वास्थ्य अधिकृत रमेश कुँवरले जनाए ।
यस प्रदेशभित्र महामारी फैलिएको अवस्थामा द्रुत प्रतिकार्य टोलीको कामलाई आवश्यक सहजीकरण गर्न प्रदेश भरिका सम्पूर्ण अस्पतालहरूलाई आवश्यक सहयोग गर्न सामाजिक विकास मन्त्री सुवेदीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार