कक्षा ८ को परीक्षा: प्रश्नपत्रको गोपनियतामा माथि शंका व्यक्त
धनगढी । धनगढी उपमहानगरपालिकाले पहिलो पटक सञ्चालन गरेको कक्षा ८ को बोर्ड परीक्षाका प्रश्नपत्रको गोपनियतामाथि प्रश्न उठेको छ ।
परीक्षा केन्द्र नै निर्धारण नगरी सञ्चालन गरिएका परीक्षाका लागि विद्यालयहरुले आफैं छापाखानाबाट प्रश्नपत्र लिन जानु परेपछि समग्र परीक्षाको गोपनीयता तथा विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । पहिलो पटक स्थानीय तहबाट सञ्चालन गरिएको परीक्षा पर्याप्त तयारी विना गरिएको आरोप विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले लगाएका छन् ।
धनगढी उपमहानगरपालिकामा फागुन २९ गतेबाट कक्षा ८ को परीक्षा सञ्चालन भएको छ । स्थानीय तहको कार्यन्वयनसंगै यो वर्षबाट पहिलो पटक कक्षा ८ को परीक्षा स्थानीय तहले सञ्चालन गरेका हुन् । धनगढी उपमहानगरपालिकामा ५७ निजी र ४५ सरकारी गरी एक सय दुई वटा विद्यालय छन् । पर्याप्त तयारी विनानै कक्षा आठको परीक्षा सञ्चालन गरि“दा विद्यालहरुलाई व्यवस्थापनमा समस्या भइरहेको शिक्षकहरुको गुनासो छ ।
ऐश्वर्य विद्या निकेतनका प्राथमिक विद्यालय व्यवस्थापक सञ्जय पन्तले प्रश्नपत्रको छपाई र संख्यामा समस्या रहेको बताए । उनले विद्यालयका शिक्षकले आफै छापाखानामा गएर प्रश्नपत्र ल्याउदा गोपनीयतामा प्रश्न उब्जिएको बताए ।
पञ्चोदय माविका प्रधानाध्यापक हरिशकुमार ओझाले गत वर्ष प्रश्नपत्रहरु शिक्षा समन्वय समितिबाट आउने गरेकोमा यस वर्ष विद्यालय आफैले छापाखानाबाट ल्याएको बताए । उनले प्रश्नपत्रमा पनि समस्या देखिएको बताए ।
धनगढी उपमहानगरपालिकाले पनि परीक्षा केन्द्र निर्धारण नगरेकाले कमजोरी भएको स्वीकार गरेको छ ।
तर, केही विद्यालयहरूले दबाब दिएर होम सेन्टर राख्न लगाएको र केन्द्र निर्धारण गर्न नदिएको उपहानगरका शिक्षा शाखाका सहसचिव वीरबहादुर नेपालीले बताए । उनले अर्को वर्षबाट २१ वटा परीक्षा केन्द्र तोक्ने निर्णय समेत भइसकेको बताए ।
प्रश्नपत्रको गोपनीयताको अधिकार सम्बन्धित विद्यालयलाई दिंदा कतिपय विद्यालयका प्रश्नपत्र बाहिरिएको पनि गुनासो आएको छ । वार्षिक र एसइइको पूर्व मुल्यांकनका रूपमा समेत लिइने कक्षा ८ को परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित निकायले तत्काल ध्यान पु¥याउन आवश्यक छ ।