गाउँपालिकाकाद्वारा स्वयंसेवक शिक्षक नियुक्त
बैतडी । बैतडीको सिगास गाउँपालिकाले सिगास स्वयंसेवक शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाभरीका निजी स्रोतमा कार्यरत शिक्षकहरुको व्यवस्थापन गर्नको लागि स्वयंसेवक शिक्षक नियुक्त गरेको हो ।
सिगास स्वयंसेवक शिक्षक कार्यविधि बनाएर सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुको व्यवस्थापन गरेको गाउ“पालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि गाउ“पालिकाले स्वयंसेवक शिक्षक नियुक्त गरेको उनले बताए । गाउँपालिकाभरीका ५९ सामुदायिक विद्यालयमा १८२ जना शिक्षक, कम्प्युटर प्रशिक्षक, बालविकास सहयोगी कार्यकर्ता र कार्यालय सहयोगी नियुक्त गरेको उपाध्यक्ष चन्दले जानकारी दिइन् ।
आधारभूत तह कक्षा १ देखि ५ सम्म पढाउने शिक्षकहरुलाई मासिक ८ हजार, आधारभूत तह कक्षा ८ सम्म पढाउने शिक्षकहरुलाई मासिक १२ हजार, माध्यमिक तह कक्षा १० सम्म पढाउने शिक्षकहरुलाई १६ हजार र कक्षा १२ सम्म पढाउने शिक्षकहरुलाई मासिक १८ हजार दिने गरेर सिगास स्वयंसेवक शिक्षक नियुक्त गरिएको निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन् ।
२०७४ चैत मसान्त अघिदेखि विद्यालयमा नियुक्त भएर काम गरिरहेका शिक्षकहरु सिगास स्वयंसेवक शिक्षकभित्र अटाएका छन् । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि आवेदन आह्वान गरेको समयमा अध्यापन अनुमति पत्र लिइसक्नुपर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
सिगास स्वयंसेवक शिक्षकका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २ करोड बजेट विनियोजन गरेको छ । सिगास गाउ“पालिकाभरी ४७ आधारभूत विद्यालय र १२ माध्यमिक विद्यालयहरु रहेका छन् । यसअघि जिल्लाको सुर्नया गाउ“पालिकाले पनि गाउ“पालिकाभरीका निजी शिक्षकहरुको व्यवस्थापन गरिसकेको छ ।