पूर्वीचौकी गाउँपालिका कार्यालयमा तालाबन्दी
डोटी । डोटीको पूर्र्वीचौकी गाउँपालिकाको कार्यालयमा मंगलबार स्थानीयहरूले तालाबन्दी गरेका छन् । गाउँपालिकाको कार्यालयले जनताको नियमित कामलाई बेवास्ता गरी सहयोगीको भरमा छोडेको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक देवबहादुर खड्काले बताए ।
कार्यपालिकाले आफूहरूका माग पुरा नगरे सम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक खड्काले बताए । गत आर्थिक वर्षमा पनि बिदा बाहेकको १७ दिन कार्यालय अलपत्र छाडेको आरोप लगाउँदै संयोजक खड्काले कार्यालय सहयोगीको भरमा गाउँपालिका छाडेर जनतालाई सेवाबाट वञ्चित गरेको आरोप समेत लागाएका छन् । मंगलबार सेवाग्राही गाउँपालिकामा आउँदा गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधि, कर्मचारी सबै दिपायलमा पर्यटन सम्बन्धि तालिम चलाउन गएको जानकारी पाएपछि तालाबन्दी गरिएको स्थानीय दीपेन्द्र खडेकाले बताए ।
गाउँपालिकामा तालिम चलाउन हल तथा खान बस्नको राम्रो व्यवस्था हुँदाहुँदै पनि गाउँपालिकाले रमझम र बिलासि व्यवहार देखाउँदै सेवाग्राहीलाई जानकारी हुने कुनै सूचना प्रवाह नगरेर दिपायलमा कार्यक्रम गर्नु दुःखद् भएको संघर्ष समितिका संयोजक खड्काले बताए ।
पुर्वीचौकी गाउँपालिकाद्वारा आयोजना हुने तालिम गोष्ठी लगायतका कार्यक्रम पारदर्सी रूपमा गाउँपालिकाको क्षेत्रभित्रै हुनुपर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुरु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका बाहिर जानु पर्ने भएमा वडाअध्यक्षलाई कार्यबाहक दिएर जानु पर्ने स्थानीयहरूको माग रहेको छ ।





