३ माघ २०८१, बिहीबार

बहुविवाह गर्ने जोडी प्रहरीको फन्दामा



अछाम । अछामको ढकारी गाउँपालिकाका बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् ।
बहुविवाह गरेको बारे प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मंगलसेन नगरपालिका वडा नम्बर ६ का एक महिलालाई अछाम प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
प्रेमप्रसादकी श्रीमती जमुनाले मंसिर ८ गते आफू घरमा हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पुस १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जाहेरी परेकै दिन १० गते पक्राउ परेका दुवै जनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
कानुनअनुसार कसैले बहुविवाह गरेमा विवाह बदर हुने र जेल सजायसमेत हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार