एकीकृत नि:शुल्क स्वास्थ्य शिविर
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एकीकृत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट पनि बिरामीको उपचारमा खटिएका छन् ।
लामो समयसम्म स्वास्थ्य क्षेत्रमा काम गरेका अध्यक्ष बिष्टले स्वास्थ्य शिविरमा सहयोग गरिरहेका छन् । गाउँपालिकाले सबै पाँच वडामा शिविर आयोजना गरेको छ ।
शिविरमा स्वास्थ्य परीक्षण तथा उपचार, जेष्ठ नागरिकका लागि नि:शुल्क आँखा जाँच तथा उपचार, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने तथा प्रेषण, दन्त उपचार, प्रयोगशाला, फार्मेसी, युएसजी (भिडियो एक्सरे) लगायतका सेवा गाउँपालिकाले दिइरहेको छ ।
पहाडी जिल्लाका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी हुने गरेकामा यस शिविरमा पनि बढी मात्रामा पाठेघर खस्ने, सेतो पानी बग्ने समस्या भएका महिलाहरू उपचारका लागि आएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका डाक्टर दिनेश उपाध्यायले बताए । उनले ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या बढी देखिएको बताए ।