निर्मला हत्या काण्ड : अनुसन्धानमा लापरवाही गर्ने प्रहरी विरुद्ध उजुरी
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका १३ वर्षिया निर्मला पन्तकी आमा दुर्गादेवीले अनुसन्धानमा लापरवाही गर्ने ८ जना प्रहरी विरुद्ध उजुरी दिएकी छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा लापरवाही गर्ने ८ जना प्रहरीलाई कारवाहीको माग गर्दै उनले उजुरी दिएकी हुन् ।
कञ्चनपुरका एसपी कुवेर कडायतले भने, “निर्मलाको बलात्कार र हत्यापछि प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका तत्कालीन एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरी अधिकारी विरुद्ध मुद्दा आएको छ ।”
मुद्दा दर्ताको प्रक्रियामा रहेको एसपी कडायतले जनाएका छन् । दर्तापछि अनुसन्धानको प्रक्रियामा जाने उनले जनाए । एसपी कडायतले भने, “अनुसन्धानमा आवश्यक पर्यो भने पक्राउ पनि गर्छौं ।”
उजुरीमा अनुसन्धान सलग्न प्रहरी अधिकारीहरूले प्रारम्भिक चरणमै लापरवाही गरेका कारण आफ्नी छोरीको हत्यारा पत्ता लाग्न नसकेको दुर्गादेवीले उल्लेख गरेकी छन् ।
प्रदीप र विशालको डिएनए पनि मिलेन
कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ ।
गत मंसिर १८ गते काठमाडौँको राजधानीबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ निवासी प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
“बलात्कारपछि हत्या गरेर गाउँकै उखुबारीमा भेटिएको निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाब’सँग दुवैजनाको डिएनए मिलेको पाइएन”, उच्च स्रोतले भन्यो, “दुवैको डिएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ । अब यसलाई जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले खोल्नेछ ।”
मंसिर १८ गते महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष पनि साविती बयान दिएका थिए । उनकै बयानका आधारमा प्रहरीले प्रदीपकै साथी विशाललाई उनकै घरबाट पक्राउ गरेर साउन २१ गते काठमाडौं ल्याएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा लिइएको बयानमा प्रदीपले सुरुमा हत्या गरेको साविती बयान दिएका थिए । उनकै बयानका आधारमा पक्राउ परेका विशालले पनि बयानमा घटना स्वीकारेका थिए ।
तर, पछिल्लो समयमा उनीहरूले पटक पटक बयान फेर्दै प्रहरीलाई नै अप्ठेरोमा पारेका थिए । उनीहरूसँगको बयान चलिरहेका बेला डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।
तर, त्यहाँ गरिएको परीक्षणमा दुवैजनाको डिएनए निर्मलाको स्वाबसँग नमिलेपछि प्रहरी अनुसन्धान मोडिएको हो । अहिलेसम्म करिब कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्टसहित २२ जनाको डिएनए परीक्षण गरिएको छ । तर, ती कसैसँग पनि निर्मलाको स्वाब नमिलेपछि प्रहरी अनुसन्धान झन् जटिलतातर्फ धकेलिएको हो ।