९ चैत्र २०८१, आईतवार

प्रहरी सुरक्षामा बाटो विस्तार हुँदै



लम्की । प्रहरीको सुरक्षामा लम्कीचुहा नगरपालिकाको स्याउलेबजारबाट वडा नम्बर ६, बागमारा, चैनपुर, बावनपुर र तिल्का जोड्ने बाटो बिस्तार कार्य शुरु भएको छ ।एक वर्षदेखि लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा गाउँभित्रको बाटो बिस्तारको काम भए पनि मुख्य निकासद्वारमा बिस्तार हुन सकेको थिइन् । अहिले त्यहाँ ३५ फुट चौडा सडक निर्माण भइरहेको छ ।
सडक विस्तार समितिका अध्यक्ष नरबहादुर विकले एक वर्षदेखि अवरुद्ध रहेको सडक विस्तार कार्य पुन: शुरु भएको बताए ।
स्याउले बजारका डम्बर रेग्मीले वडा कार्यालयले बाटोमा घर र जग्गा परेका व्यक्तिहरूसँग कुनै समन्वय नगरी तथा पद्धति मिचेर बाटो बिस्तार गरिरहेको गुनासो गरे ।
त्यस्तै, स्याउले बजारको नाकामै घर भएका महेन्द्र खत्रीले स्थानीय सरकारले जनतासँग कुनै छलफल नै नगरी तथा बिना सहमति बल प्रयोग गरेर बाटो विस्तार गर्नु उचित नभएको बताए ।
उनले नगरपालिकालले बाटो विस्तारका लागि अहिलेसम्म बाटोमा घर र जग्गा परेका व्यक्तिहरूसँग कुनै किसिमको छलफल नगरेको बताए । उनले भने– “हामी पनि बाटो विस्तार गर्न तयार छौं । तर, नगरपालिकाले पनि समन्वय त गर्नु पर्‍यो नि ।”
लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नेत्र सुनाखरीमगरले जनतासँग समन्वय र सहकार्य गरी काम गर्दै आएको दावी गरे । उनले स्याउले बजारदेखि तिल्का चौराहसम्म जोड्ने बाटो बिस्तार हुननसकेको र स्थानीयसँग दुई पटक छलफल भए पनि सहमती हुन नसकेको बताए ।
वडाले सो बाटो बिस्तार र कालोपत्रेका लागि ५० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । वडा कार्यालयले मंसिर ११ गते बोलाएको भेलाले बाटो नाप्ने समिति गठन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार