निर्मलाका लागि न्याय माग्दै महिला सांसदहरूद्वारा ज्ञापन
धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका लागि न्याय माग्दै नेपाली काँग्रेसका महिला सांसदहरूले शनिबार सुदूरपश्चिम पदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य डाक्टर डिला संग्रौला तथा सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय दिव्यश्वरी शाह र नन्दा बमले निर्मलाका हत्यारा पत्ता लगाएर तुरन्त कारबाहीको माग गर्दै शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाए ।
ज्ञापनपत्रमार्फत सांसदहरूले सुदूरपश्चिममा अझैं कायम रहेको छाउपडी, बोक्सी जस्ता कुरीतिको अन्त्यका लागि पनि प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । ‘कोही पनि हरेक बालबालिकाले कुनै पनि वेला असुरक्षा महसुस गर्नु नपर्ने खालको वातावरण निर्माण गरियोस्’ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले पनि निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्न संघीय सरकारसँग समन्वय गरिरहेको बताए । यसैबीच शनिबार नै नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डाक्टर संग्रौलाले सरकारले नै निर्मलाका हत्याराको संरक्षण गरिरहेको आरोप दोहोर्याइन् । “सरकारले अपराधीको संरक्षण गरेका कारण नै देशमा सयौं निर्मलाहरू बलात्कृत भइरहेका छन्” सांसद संग्रौलाले भनिन् ।
सुदूरपश्चिमको महेन्द्रनगरबाट ‘निर्मलाका लागि न्यायिक अभियान’ सञ्चालन गरेकी नेतृ डाक्टर संग्रौलाले भनिन्– “वर्तमान प्रधानमन्त्री, गृहमन्त्रीहरू सिंहदरबारको कुर्सीमा बसेर बलात्कारी, हत्यारालाई संरक्षण गरिरहेका छन् ।”
नेतृ संग्रौलाले सडक किनाराका पर्खाल तथा पोलपोलमा प्रधानमन्त्रीको फोटो टाँसेर नयाँ युगको शुरुवात नहुने टिप्पणी गरिन् । भनिन्– “प्रधानमन्त्रीज्यू, भित्ता, पर्खाल वा पोलमा फोटो टाँसेर नयाँ युग आउँदैन । न्याय नपाएकालाई न्याय दिनुस् । भ्रष्टाचार रोक्नुस् । सुशासन कायम गर्नुस् । आफै सुरु हुन्छ, नयाँ युग ।”
उता, कञ्चनपुरमा निर्मला पन्तको न्यायका लागि सार्वजनिक स्थलमा पोष्टर टाँस्ने अभियान व्यापक बन्न थालेको छ । निर्मलाका दिदी मनिषा र अन्य केही अधिकारकर्मीहरूको अगुवाईमा महेन्द्रनगर बजारका विभिन्न ठाउँमा शुक्रबारदेखि ‘सरकार भेटियो, तर न्याय भेटिएन’ लेखिएका पोष्टर टासिएका छन् ।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको तस्बिरसहित नारा लेखिएका सयौं पोस्टर बजार क्षेत्रका विद्युतका पोल, घरका पर्खाल र रूखमा टाँसिएका छन् ।
शनिबार अभियानकर्मीहरूले आफ्नो पिठ्यूँमासमेत पोस्टर टाँसेका थिए । “देशमा सरकार त छ, तर हामीले चार महिनासम्म न्याय पाउन सकेका छैनौं” पोस्टर टाँस्दै गरेकी मनिषाले भनिन्– “हामी सरकारको आँखा खोल्ने प्रयासमा छौं ।”
निर्मलाको न्यायका लागि चार महिनादेखि निरन्तर खटिएको मनिषाकी छिमेकी मञ्जु भट्ट भन्छिन्– “सरकारले आँखा देखेन, राम्ररी हेरिदिएन भनेर निर्मलाको तस्बिरसहितको पोस्टर टाँस्ने काम गरेका छौं ।” उनले अनुसन्धान निष्पक्ष र चाँडो होस् भनेर दवाव दिन यस्तो कार्यक्रम गरिएको बताइन् ।
महेन्द्रनगरको मेनरोड, बसपार्क र जिल्ला प्रशासन कार्यालय क्षेत्रमा पोस्टर टाँसिएका हुन् । निजी तथा सार्वजनिक क्षेत्र जताततै पोस्टर टाँसिएको छ । यसले रचनात्मक दवाव सिर्जना गर्ने महिला अधिकारकर्मीहरू बताउँछन् ।