सुदूरपश्चिममा मानवअधिकार हनन्का घटनामा कमी आउँदै
धनगढी । सुदूरपश्चिम प्रदेशमा विगतको तुलनामा मानवअधिकार हनन्का घटनामा कमी आएको पछिल्लो एक तथ्यांकले देखाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालय धनगढीका अनुसार सन् २०१७ को तुलनामा सन् २०१८ को नौ महिनामा मानवअधिकार हनन्का घटनामा कमी आएको छ ।
इन्सेकले सन् २०१८ जनवरीदेखि सेप्टेम्बरसम्मको सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको अवस्था स्थितिसूचक सार्वजनिक गर्दै सन् २०१७ को तुलनामा सुधार आइरहेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांकसहितको विश्लेषणबारे शुक्रबार धनगढीमा आयोजित समीक्षा कार्यक्रममा इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले सन् २०१७ मा पाँच सय २४ जना पीडित भएकोमा सन् २०१८ को सेप्टेम्बरसम्म चार सय २६ जना पीडित भएको बताए ।
इन्सेक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१८ मा गैरराज्य पक्षबाट तीन सय ८० महिला र २४ पुरुष पीडित भएका थिए भने राज्यपक्षबाट एक महिला र २१ जना पुरुष पीडित भएका थिए ।
त्यस्तै, सन् २०१७ मा गैरराज्य पक्षबाट चार सय ४४ महिला र २१ जना पुरुष पीडित भएका थिए भने राज्य पक्षबाट एक महिला र २० जना पुरुष पीडित भएका थिए ।
इन्सेकको प्रतिवेदन अनुसार सन् २०१७ मा राज्य पक्षबाट २० जनाको नागरिक तथा राजनीतिक अधिकार उल्लंघन भएको थियो भने सन् २०१८ को नौ महिनामा २२ जनाको नागरिक तथा राजनीतिक अधिकार हनन् भएको थियो । इन्सेकले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा एक सय ७७ मानवअधिकार हनन्का घटनामा एक सय ७८ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ ।
प्रदेशमा सबैभन्दा बढी महिला र बालबालिका पीडित भएको पाइएको इन्सेक प्रतिवेदनले देखाएको छ । तथ्यांकअनुसार तीन सय ६१ वटा घटनामा तीन सय ६४ महिला पीडित भएका छन् । घरेलु हिंसाबाट तीन सय २३, बहुविवाहबाट १०, बलात्कारबाट १६, बलात्कारको प्रयासबाट छ, अमानवीय व्यवहारबाट एक जना गरी तीन सय ५९ जना महिला पीडित भएको जनाइएको छ । इन्सेक प्रतिवेदनमा एक जना महिलाको बलात्कारपश्चात हत्या र पाँच जना महिलाको परिवारजनबाट हत्या भएको जनाइएको छ भने एक युवती र एक जना पुरुषलाई बोक्सी बोक्सोको आरोपमा निर्घात कुटपिट तथा दुव्र्यवहार गरिएको उल्लेख छ ।
यस्तै, सन् २०१७ मा बालअधिकारका ४४ वटा घटनामा ४४ जना बालिका पीडित भएको थियो भने सन् २०१८ को नौ महिनामा गैर राज्यपक्षबाट ४६ वटा घटनामा ३२ जना बालिका बलात्कृत र नौ जना बालिका बलात्कारको प्रयासबाट पीडित भएको उल्लेख छ । दुई जना बालिकालाई बेचविखनको प्रयास भएको प्रतिवेदनमा उल्लेख छ ।
सन २०१७ मा १७ जना जातीय विभोदबाट पीडित भएकोमा यस वर्षको नौ महिनामा पाँच जना पीडित भएको उल्लेख छ । प्रदेशमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उल्लंघनका १६ घटना यस अवधिमा भएको उल्लेख छ ।
इन्सेक प्रतिवेदनले प्रदेशको पहाडी जिल्लाहरूमा शिक्षा तथा स्वास्थ्य अधिकारको अवस्था चिन्ताजनक रहेको देखाएको छ । सो प्रतिवेदन अनुसार प्रदेशको बाजुरा, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा शिक्षाको अधिकार परिपूर्ति नभएको, महिनावरी हुँदा छात्राहरूले विद्यालय जान नहुने रुढीबाढी परम्पराका कारण बाजुराका दुर्गम विद्यालयमा अध्ययनरत छात्राहरू शिक्षाबाट वञ्चित भएको र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन हुँदा विरामीहरूले उपचार पाउन नसकेको जनाइएको छ भने दार्चुला जिल्ला अस्पतालमा औषधि अभाव रहेको पाइएको उल्लेख छ ।
सो अवसरमा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक झंकर रावलले प्रदेशको मानवअधिकारको अवस्था, सुधार गर्नुपर्ने विषय लगायतमा सरोकारवालाहरूले समिक्षा गर्नुपर्ने बताए । “प्रदेशमा बलात्कार, हत्या हिंसा, कुरीति तथा विकृति बढ्दै गएको छ” निर्देशक रावलले भने– “यस्ता घटनाको न्यूनीकरण गर्न प्रदेश सरकार, सांसद, नागरिक समाज लगायत सरोकारवालाहरूले समीक्षा गर्न जरुरी छ ।” उनले कानूनमा टेकेर सबैले काम गर्ने हो भने मानवअधिकारको अवस्था रहने बताउँदै “यहाँ राजनीतिक, दलगत, पहुँचवाला, नातागोताको हष्तक्षपले न्याय र मानवअधिकारको अवस्थामा प्रभाव पारेको छ ।”
समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले नागरिक कर्तव्यमाथि जिम्मेवार हुन नसकेको गुनासो गरेका थिए । सहभागीहरूले कतिपय अवस्थामा प्रहरीले जाहेरी दर्ता नगरिदिने अवस्था देखिएको छ भने कतिपय अवस्थामा नागरिकले आन्दोलन लगायतका दवाव कार्यक्रम गरेर अनुसन्धानलाई प्रभावित पार्ने काम भएको गुनासो गरेका थिए ।
नेपाल वार एशोसियसन कैलालीका अध्यक्ष प्रेम चन्दले प्रहरीले उजुरी लिन नमान्नुको कारणबारे चर्चा गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालयका प्रतिनिधि, अधिवक्ता, नागरिक समाज, मानवअधिकार क्षेत्रमा काम गरिरहेका संघ/संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन रविना चौधरीले गरेकी थिइन् ।




