बाल विवाहले निम्त्याएको पीडा
सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२ की फूलमाया डंगौराको विहे हुँदा उनको उमेर १३ वर्षको थियो । उनी पाँच कक्षामा पढ्दै गर्दा उनको घोडाघोडी नगरपालिका वडा नम्बर ७ का श्रवण डंगौंरासँग प्रेम विहे भएको थियो ।
विहे भएको १० वर्षको अवधिमा उनका तीन सन्तान जन्मिए । “विहेपछि हामी खुसी थियौं” मायाले भनिन्– “हाम्रो सुखी जीवनमा सौताको आँखा लाग्यो । अहिले मेरा श्रीमान जेल जीवन बिताइरहनु भएको छ ।” कलिलै उमेरमा विहे भएपछि पनि उनीहरू खुसी थिए । “तीन सन्तान जन्मिए । घरको आर्थिक अवस्था कमजोर हुँदै गयो” उनले भनिन्– “आर्थिक अवस्था कमजोर हुँदै गएपछि बैंकबाट ऋण निकालेर गल्ला व्यापार शुरु गर्यौं ।”
तर, उनका श्रीमान (श्रवण) ले व्यापार शुरुसँगै उनीहरूको दाम्पत्य जीवनमा ग्रहण लाग्न शुरु भयो । “उहाँ मसँग टाढिन थाल्नुभयो । उहाँको अर्कै केटीसँगको मायाप्रेम बढ्दै गएको रहेछ” उनी भन्छिन्– “शुरुमा छिमेकीले भन्दा विश्वास लागेन, तर पछि आफ्नै आँखाले देखेपछि आकाशबाट खसे झैं भए ।”
उनको दाम्पत्य जीवनमा अर्की केटीले प्रवेश गरेपछि घरपरिवारमा अशान्ति बढ्न थाल्यो । श्रीमान, श्रीमतीबीच झगडा हुन थाल्यो । उनका श्रीमानले अर्की श्रीमती ल्याउने प्रस्ताव गरे, तर उनले अस्वीकार गरिन् । “मैले अस्वीकार गरेपछि ममाथि कुटपिट, हिंसा हुन थाल्यो” उनले स्मरण गरिन् ।
“दिनहुँ श्रीमानले कुटपिट हुन थालेपछि म प्रहरी कार्यालय पुगे” उनले सम्झिइन्– “छ/सात पटक प्रहरी कार्यालय धाए, तर प्रहरीले उजुरी नै लिन मानेन । घोडाघोडी नगरपालिकामा पनि गए, तर त्यहाँ पनि कसैले मेरो गुनासो सुनेनन् ।”
न्यायका लागि भौंतारिइरहेकी मायाको घोडाघोडी नगरपालिका कार्यालयमा अधिकारकर्मी सावित्रा आचार्यसँग भेट भयो । सावित्राले फूलमायासँगको पहिलो भेट स्मरण गरिन्– “फूलमायाको आँखामा चोट थियो । लुगा च्यातिएको थियो । कौतुहलबस मैले उनीसँग के भएको हो ? भनेर सोधे । अनि मैले उनीमाथि भइरहेको ज्यादतीबारे जानकारी भयो ।”
अधिकारकर्मी सावित्राको पहलमा बल्ल प्रहरीले उजुरी दर्ता गर्यो । अहिले फूलमायाका श्रीमान श्रवण वहुविवाह र मंहिला हिंसा सम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् ।श्रीमान जेल गएपछि एक्ली भएकी फूलमायामाथि छोराछोरी, परिवारको लालनपालनको जिम्मेवारी थपियो । उनले अहिले विभिन्न संघसंस्थाको सहयोगबाट तीन वटा बाख्रा र एक बंगुरपालन गरिरहेकी छन् ।
उनका श्रीमान श्रवणले एक बिघा जमिन बैंकमा धितो राखेर निकालेको ऋण रकम कान्छी श्रीमतीलाई दिएको फूलमायाले बताइन् । “श्रीमानले मेरो विश्वास नगरी ममाथि सौता हाले, मैले पनि उनको विश्वास नगरी जेल पुर्याए । हेरौं कहाँसम्म चल्छ जिन्दगी ?” उनले भावुक हुँदै भनिन् ।