२१ बैशाख २०८१, शुक्रबार

विधिको शासनको प्रत्याभूतिका लागि दण्डहीनताको अन्त्य जरुरी



डडेल्धुरा । समाजमा दण्डहीनता बढ्दै जाँदा लोकतान्त्रिक पद्धति तथा विधिको शासन नै कमजोर हुने मंगलबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा चर्चा भयो ।
फ्रीडम फोरमको आयोजनामा मंगलबार डडेल्धुराको सदरमुकाम खलंगामा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा सहभागीहरूले स्वतन्त्र प्रेसको प्रत्याभूति हुने वातावरण निर्माणमा सबैको सामुहिक दायित्व रहेको औल्याए ।
‘सुखी र समृद्ध राष्ट्र निर्माणका लागि स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा व्यावसायिक पत्रकारिताको पनि अहं भूमिका छ’ कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले भने– “त्यसैले प्रेस स्वतन्त्रताको संरक्षणका लागि सरकार, राजनीतिक नेतृत्व, समाज सबैको समान दायित्व रहेको छ ।”
प्रमुख जिल्ला अधिकारी जोशीले लोकतन्त्रको आधार नै स्वतन्त्र प्रेस भएकाले नेपालको संविधान २०७२ को प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख भएको चर्चा गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वाँरले प्रजातन्त्रकाल, माओवादी युद्धकाल, लोकतन्त्रकाल र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र कालमा समेत कुनै न कुनै बहानामा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने तथा दण्डहीनतालाई प्रश्रय दिने प्रवृत्ति जारी रहेको चर्चा गरे ।
उनले भने– “विश्वको उत्कृष्ट राज्य व्यवस्था अंगालिसकेपछि पनि अझैं पीडित पक्षले न्यायका लागि सडकमा ओर्लेर दवाव दिनु परेको अवस्था छ । तीन तहका सरकार छन्, तर पीडित पक्षले किन सरकार, प्रशासन तथा प्रहरीप्रति विश्वास गर्न सकिरहेको छैन ?”
कार्यक्रममा जिल्ला बारका अध्यक्ष विष्णुदत्त भट्टले पीडितका लागि बोल्नु पर्ने प्रेसले अझैं आफैं असुरक्षित भएको अनुभव गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था रहेको चर्चा गरे ।
कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपाका नेता नरबहादुर बिष्ट, नेपाली काँग्रेसका नेता गुणाकर चटौत, नागरिक समाजका सचिव रमेश भट्ट, नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष टेकराज अवस्थी, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, लगायतले प्रेस स्वतन्त्रताको अवस्था, दण्डहीनताको अवस्था लगायतका विषयमा धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति डिआर पन्तले गरेका थिए भने महासंघ डडेल्धुराका अध्यक्ष मानबहादुर साउँदले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार