२१ बैशाख २०८१, शुक्रबार

गाउँपालिका महासंघको प्रदेश अधिवेशन सुरु



डोटी । गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश स्तरीय प्रथम महाधिवेशन मंगलबार डोटीको बुडरमा सुरु भएको छ । अधिवेशनको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विगतभन्दा भिन्न सोच, चिन्तन, र व्यवहार गर्नुपर्ने भएकाले राज्यको पुन:संरचना गरिएको हुनाले तीनवटै सरकारले मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले बिगतदेखि नै राम्रो काम आफूले र नराम्रो काम अरूले गरेको भन्दै आरोप लगाउने प्रवृति बढेको बताए । प्रदेश र संघलाई काम गर्न नदिएको भन्ने आरोप गलत भएको जिकिर गरे । तीनवटै सरकार अधिकारसम्पन्न भएको र आवश्यकताअनुसार कानून बनाएर काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं महासंघका सल्लाहकार संयोजक घनश्याम खतिवडा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य भरतबहादुर खड्का, प्रदेश सभा सदस्य लालबहादुर खड्का, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, महासचिव वंशलाल तामाङ, नेपाल नगरपालिका महासंघका प्रदेश संयोजक केशरबहादुर चन्द, जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश संयोजक तथा जोरायल गाउँपालिकाका प्रमुख दुर्गादत्त ओझाको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन सहसंयोजक पुष्पराज शर्माले गरेका थिए ।
अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ५४ गाउँपालिकाका एक सय ६२ प्रतिनिधि सहभागी छन् । अध्यक्ष र उपाध्यक्ष अनिवार्य तथा वडाअध्यक्ष र सदस्यहरूमध्येबाट १–१ गरी प्रत्येक गाउँपालिकाबाट ३–३ जना सहभागी छन् ।
अधिवेशनको बन्द सत्र मंगलबारदेखि नै सुरु भएको हो । आज (बुधबार) नै नयाँ कार्यसमिति र बुडर घोषणापत्र जारी गर्दै अधिवेशन समापन हुने जनाएको छ ।

जनताको अपेक्षाअनुसार काम गर्न सकेनौ
जनताको अपेक्षा अनुरूप काम गर्न नसकेको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो पोखेका छन् ।
डोटीको जोरायल गाउँपालिका–२, बुडरस्थित प्रहरी तालिम केन्द्रमा मंगलबारबाट सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश स्तरीय प्रथम महाधिवेशनमा सहभागी हुन पुगेका जनप्रतिनिधिहरूले त्यस्तो गुनासो गरेका हुन् । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठले गाउँगाउँमा सिंहदरबार भनि नारा लगाए पनि सीमित कर्मचारी, स्रोत र कानूनको अभावमा काम गर्न कठिनाई भएको बताए । गाउँपालिका राष्ट्रिय महासंघका सुदूरपश्चिम अध्यक्ष दुर्गादत्त ओझाले ४०/५० हजारका योजना माग्न, भुक्तानी लिन सदरमुकाम धाउनुपर्ने समस्या पछिल्लो समयमा हटेको बताउँदै स्थानीय तहले क्षमताअनुसार काम गरिरहेको भएपनि प्रदेश र संघले कानून नबनाइ दिँदा विकासको गति अघि नबढेको बताए ।
महाअविधेशनमा सहभागी हुन पुगेका अधिकांस गाउँपालिका अध्यक्षहरूले सबैभन्दा बढी गुनासो कर्मचारी अभाव र प्रदेश तथा संघले कानून, कार्यविधि नबनाइ दिएको प्रति बढी लक्षित थियो । तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले कर्मचारी नै नपठाएर स्थानीय तहका जनप्रतिनिधिहरूलाई आलंकारिक बनाएर राखेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार