१८ आश्विन २०८१, शुक्रबार

बागफाँटा गौशाला सञ्चालनका लागि सम्झौता



महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १९ मा निर्माण गरिएको गौशाला एक साताभित्र सञ्चालनमा आउने भएको छ । भीमदत्त नगरपालिकाले बिहीबार गौशाला सञ्चालनका लागि सम्झौता गरेको छ ।
भीमदत्त नगरपालिका कार्यालय र झापा नमूना गौरीगाउँ अर्गानिक एग्रिकल्चर फर्मबीच बिहीबार सो सम्बन्धी सम्झौता भएको जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र फर्म सञ्चालक जंगबहादुर घतानीले गौशाला सञ्चालन सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आठ बिगाहा जमिनमा गौशाला सहितका पूर्वाधार निर्माण गरिएका छन् । फर्मलाई चार वर्षका लागि गौशला सहितका पूर्वाधार निर्माण प्रयोगका लागि सम्झौता गरिएको छ ।
फर्मले पशुपालन व्यवसायीकरण र अर्गानिक तरकारी खेती गर्ने सहितका योजना सहित नगरपालिकालाई वार्षिक एक लाख ११ हजार रुपैयाँ उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।
नगरपालिकाले छाडा पशुचौपाया समस्या समाधानका लागि गत वर्ष बागफाँटामा जमिन भाडामा लिएर गौशाला निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार