७ चैत्र २०८१, शुक्रबार

कृषि विकास बैंक कर्मचारी संगठनको एकता घोषणा



धनगढी । कृषि विकास बैंक कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेशस्तरीय एकता घोषणा गरिएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट कृषि विकास बैंक कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि विकास बैंकले शनिबार धनगढीमा संयुक्त रूपमा कार्यक्रम आयोजना गरी एकता घोषणा गरेका हुन् ।
एकता घोषणासँगै कृषि विकास बैंक कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेश किमिटी र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला कमिटीहरू पनि घोषणा गरेका छन् ।
कृषि विकास बैंक कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेश कमिटी संयोजकमा नरेश अवस्थी र सहसंयोजकमा मदनबहादुर अधिकारी चयन भएका छन् । १३ सदस्यीय प्रदेश कमिटीको सदस्यमा मिठ्ठुलाल चौधरी, आशाकुमारी भट्ट, विन्देश्वरी भट्ट, लक्ष्मी सापकोटा नेपाली, गौरव डिसी, तुलाराम चौधरी, हरिबहादुर बुढा, सोमबाहादुर गुरुङ, हरिप्रसाद जोशी, कर्णबहादुर महरा र हरिबहादुर बुढा छन् ।
कैलाली जिल्ला कमिटी अध्यक्षमा सुर्जनबहादुर चन्द, सचिवमा चनक उपाध्याय र सदस्यहरूमा वीरेन्द्रप्रसाद विष्ट, प्रमोद शर्मा, लीला चौधरी, अनुपमा शाह, जयन्ती जोशी, भुवनेश्वर कुँवर, गोविन्द बोहरा, रविना बखरिया, जीतेन्द्र चौधरी र शशी भट्ट छन् ।
कञ्चनपुर जिल्ला कमिटीमा अध्यक्ष सुरेन्द्र चैसीर, सचिवमा रामेश्वरी बोहरा र सदस्यहरूमा मोनिका गुरागाई, गोविन्द राना, हेमबहादुर बुढा, गणेश चौधरी, रामसिंह धामी र शिवजी धामी छन् ।
अछाममा सूर्यप्रकाश चौधरी, डडेल्धुरामा टीकादत्त पनेरू, बाजुरामा वीरबहादुर बोहरा, डोटीमा सन्तोष भण्डारी जिल्ला कमिटी अध्यक्षमा चयन भएका छन् । दार्चुलामा चक्रबहादुर कुन्जेडा अध्यक्ष र दानसिंह थापा सचिव चयन भएका छन् । बैतडीमा प्रकाश जोशी अध्यक्ष र कविता विष्ट सचिव चयन भएका छन् । बझाङ जिल्ला कमिटी अध्यक्षमा कुमारविक्रम थापा, सचिवमा दीपक धमेना र सदस्यहरूमा जयानन्द पनेरू, वीरेन्द्र महता र नवराज बुढा चयन भएका छन् ।
त्यसैगरी, संगठनले प्रदेशमा ९ सदस्यी प्रदेश सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा सरोजकुमार महर्जन, अजबहादुर रोकाया, मुकेश केसी, पंकज चापागाई, डिगरदेव जोशी, सुरबहादुर राउत, विष्णु आचार्य र भरतबहादुर रावत छन् । संगठनका केन्द्रीय सचिवालय सदस्य अनिलकुमार सुवेदीले कमिटी घोषणा गरेका थिए ।
कार्यक्रममा नयाँ कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा र नेपाल बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका महासचिव योगेन्द्रबहादुर सिंह, संगठनका केन्द्रीय संयोजक मोहिनी खनालले खादा सहित टीका लगाइदिएका थिए । रिटयर्ड कर्मचारीहरू सम्मान सहित विदाई गरिनुका साथै नयाँ कर्मचारीहरूलाई स्वागत गरिएको थियो ।

आर्थिक विकासमा अवरोध स्वीकार्य छैन : थापा
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले आर्थिक विकासमा अवरोध कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएका छन् ।
कृषि विकास बैंक कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेशस्तरीण एकता घोषणा कार्यक्रमा शनिबार थापाले ट्रेड युनियनका नाममा वा अरू कुनै नाममा आर्थिक विकासमा गरिएको अवरोध स्वीकार्य नसकिने बताए । ऐनमै आर्थिक क्षेत्रमा बन्द, हड्ताल गर्न नपाउने व्यवस्था आफैले गरेको सम्झिदै उद्योग मन्त्री रहिसकेका थापाले कानूनको उलंघन गर्ने जो कोहीलाई पनि सरकारले कारवाही गर्ने बताए ।
उनले अबका ट्रेड युनियनहरूले हक अधिकारका लागि बन्द, हड्ताल तथा अवरोधमा उत्रिने काम छोडेर विकासको सहयोगी बन्नुपर्ने बताए । “ट्रेड युनियनको अधिकार बन्द, हड्ताल होइन,” अध्यक्ष थापाले भने, “काम र कामको सम्मान ट्रेड युनियन अधिकारको अधिकार हो । त्यो अधिकार पाउनका लागि सरकारलाई प्रणाली विकास गर्न रचनात्मक सहयोग गर्नुपर्छ । बन्द हड्तालको बाटोमा लाग्नु हुँदैन ।”
गलत कामको लागि दसौं हजार मानिस आएपनि नहुने र सहि कामका लागि एक जना आएपनि खुरुखुरु काम हुने प्रणाली विकासका लागि ट्रेड युनियनहरूले काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्रको विकासका लागि बैंकका कर्मचारीहरूले अध्ययन गरी राजनीति गर्नेलाई मार्ग दर्शन गर्नुपर्ने पनि उनले बताए ।
संंगठनका केन्द्रीय संयोजक मोहिनी खनालले अब संगठनले कर्मचारीको सरुवा बढुवा जस्ता काममा मात्रै नजेलिने बताएका छन् । उनले परम्परागत ट्रेड युनियनको अन्त्य गर्दै सृजनात्मक ट्रेड युनियन बनाउन लागेको दावी गरे । संगठनका सदस्यले सेवा प्रदान गर्न अग्रपंतिमा आउनुपर्ने बताउँदै केन्द्रीय संयोजक खनालले कर्मचारीहरूले सरुवा बढुवाको परिणाम आफैले थाहा पाउने व्यवस्थाको विकास गर्न संगठनले काम गर्ने बताए । उनले बैंक व्यवस्थापनको सहकार्यमा संगठनले काम गरी कृषि विकास बैंकलाई सबै भन्दा बढी प्रविधि भएको जनताले सहज सेवा पाउने बैंक बनाउन काम गर्ने बताए ।
संगठनका सुदूरपश्चिम प्रदेश संयोजक नरेश अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका महासचिव योगेन्द्रबहादुर सिंह, संगठनका केन्द्रीय सहसंयोजक हेमेन्द्र अर्याल, नेकपाका नेता तथा बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी, कृषि विकास बैंकका क्षेत्रीय निर्देशक हरिषचन्द्र यादव, नेपाल वित्तीय कर्मचारी संघका संयोजक गोविन्द जोशी, कृषि विकास बैंक धनगढी क्याम्पसरोड शाखाका प्रबन्धक जगदिशप्रसाद पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार