३ माघ २०८१, बिहीबार

मन्त्री मगरद्वारा हुलाकी राजमार्ग निर्माण कार्य तीब्र बनाउन निर्देशन



कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएकी छन् । मन्त्री मगरले बिहीबार महेन्द्रनगरमा हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई सडकको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिइन् ।
उनले भनिन्– “हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएको जनगुनासो बढ्दै गएको छ । तपाईहरू सडक निर्माण कार्य युद्धस्तरमा अघि बढाउनुहोस् ।” मन्त्री मगरले आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई बोलाएर सम्झौताअनुसार नियमित ढंगबाट निर्माण गर्न समेत निर्देशन दिइन् ।
उनले जनताको चाहना अनुुसार सडकको काम गर्न निर्देशन दिइन् । भनिन्– “सडक निर्माणमा गुणस्तरीयताका कमि नगर्नुहोला ।”
हुलाकी सडक निर्माणको जिम्मा पाएको राजेन्द्र जेभी निर्माण कम्पनीका ईञ्जिनियर रोशन भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण ढिलासुस्ती भएको बताए । उनले दैजी र पुर्नवासमा चार किलोमिटर कालोपत्रे गर्ने काम भइरहेको बताए ।
हुलाकी राजमार्ग आयोजनाका ईञ्जिनियर पदमबहादुर मडैले आयोजनामा जनशक्ति अभावका कारण ढिलासुस्ती भएको बताए ।
डिभिजन सडक कार्यालय कञ्चनपुरका ईञ्जिनियर खगेन्द्र शाहीले हुलाकी राजमार्ग आयोजना र बेलौरी कलुवापुर सडकको काम बारे मन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार