निष्ट एलपीएल क्रिकेट : कैलाली मोडेल र एबीसी विजयी
धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा धनगढीको कैलाली मोडल स्कुल तथा नेपालगञ्जको एबीसी स्कुल विजयी भएका छन् ।
बुधबारको पहिलो खेलमा कैलाली मोडेलले विज्डम एकेडेमी कञ्चनपुरलाई छ विकेटले पराजित गर्यो । बुधबार नै भएको अर्को खेलमा नेपालगञ्जको एबीसी स्कुलले काठमाडौंको मोक्छदा स्कुललाई सात रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको विज्डम एकेडेमी कञ्चनपुरले २० ओभरमा आठ विकेट क्षतिमा एक सय ७१ रनको विशाल स्कोर बनायो ।
बिज्डमका प्रकाश जोशीले ५७ रनको आकर्षक अर्धशतकीय पारी खेले । त्यस्तै, किरन ठगुन्नाले ४० रन तथा कप्तान लोकेश बमले २७ रन बनाए । बिज्डमका वसन्त कार्कीले १७ र सुशील पन्तले १४ रनको योगदान गरे ।
बलिङतर्फ कैलाली मोडेलका कैलाश खातीले तीन र बसन्त थापाले दुई विकेट लिए ।
एक सय ७२ रनको विजय लक्ष्यसहित ब्याटिङमा ओर्लिएको कैलाली मोडलले चार विकेट गुमाएर लक्ष्य भेट्टायो । कैलाली मोडेलका सुवोध ऐरले ७४ रनको बिस्फोटक पारी खेले । त्यस्तै, कप्तान अजय बिष्टले ३७, अभिषेक पालले १९ र शोभित महताले १३ रन बनाए । खेलको म्यान अफ द म्याच सुवोध भए ।
बुधबार नै भएको दोस्रो खेलमा एबीसी आवासीय स्कुल नेपालगन्जले काठमाडौंको मोक्छदा स्कुललाई सात रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको एबीसी स्कुलले सबै विकेट गुमाएर एक सय ३७ रन बनायो । एबीसीका बिशाल केसीले २८, लवकुश यादवले २१, अमन अन्सारीले १४ तथा सदाव अन्सारी र सहिल बस्नेतले १३/१३ एवं बुद्ध अधिकारीले १२ रन बनाए ।
बलिङतर्फ काठमाडौंको मोक्छदाका अनिश कार्कीले चार तथा विपिन खत्रीले तीन र दीपक बोहराले दुई विकेट लिए ।
एक सय ३८ रनको लक्ष्य पच्छ्याउने क्रममा मोक्छदा स्कुल एक सय ३० रनमा अलआउट भयो । मोक्छदाका दीपक बोहोराले ३६, विशाल लिम्बुले ३४, विपिन खत्रीले २७ र सुदीप बस्नेतले १६ रन बनाए ।
प्रतियोगिता अन्तर्गत आज बिहीबार सरस्वती मावि गेटा र निष्ट भक्तपुर तथा लिटिल बुद्ध महेन्द्रनगर र एबीसी स्कुल नेपालगञ्जबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।




