अलपत्र बालिकाको उद्दार
दार्चुला । दार्चुलाको सदरमुकाम खलंगा बजारमा अलपत्र परेकी ११ वर्षीया एक बालिकाको प्रहरीले उद्धार गरेको छ ।
नौगाड गाउँपालिका–३, खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलंगाबाट उद्धार गरेको हो ।
गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफूसँगै सदरमुकाम खलंगामा कापी झोला खरिद गर्नका लागि ल्याएका बडाललाई खलंगा बजारमा अलपत्र छोडेका हुन् ।
बंगाबगडमा सोमबार दिउँसो ४ बजे पुगेका बालिकालाई आफू एक छिनपछि आउने भन्दै सडक छेउमै छोडेर ठगुन्ना सम्पर्कबिहीन भएको बालिकाले बताइन् ।
बालिका खोज्न सोमबार रातिसम्म ठगुन्ना नआएपछि बालिकालाई प्रहरीले सडक छेउमै भेट्टाएको थियो ।
आफन्तसँग आएकी बालिका अभिभावक नहुँदा बाटोमै अलपत्र परेको पाइएपछि उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए ।
मंसिर १ गते विद्यालय खुल्ने भएपछि कापी र झोला किन्न भन्दै बालिकालाई काकी नाता पर्ने ठगुन्नाले खलंगा ल्याएको बालिका बडालले बताइन् । “यहाँ आइसकेपछि काकी कहाँ गए भन्ने थाहा भएन,” बालिका बडालले भनिन् ।
लटिनाथ मावि खारमा कक्षा ५ मा अध्ययन गर्दै आएकी बडालको पारिवारिक आर्थिक अवस्था कमजोर छ । उनको घरमा चार भाइ र तीन बहिनी छन् ।
जसमा दाइ राजेन्द्र कक्षा ५, दिदी नरुली कक्षा ५ र नारन्ती कक्षा ५ मा लटिनाथ मावि खारमा पढ्दै आएका छन् ।
यस्तै, उनका भाइ मनवीर कक्षा ३, भाइ रोहित कक्षा २ र बहिनी वसन्ती कक्षा १ तथा भरत बडाल पूर्व प्राथमिक कक्षामा होपरीगाडमा अध्ययन गर्दै आएका छन् ।
गरिबीका कारण बुबा भारतमा मजदूरी गर्न गएको बालिकाले बताइन् । प्रहरीले उद्धार गरेका बालिकाको लागि झोला, कापी कलम खरिद गरी हस्तान्तरण गरेको छ ।
प्रहरीले उद्धार गरिएका बालिकालाई मामा नाता पर्ने शेरसिंह बोहरा र काकी नाता पर्ने धाना धामीलाई जिम्मेवारी लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।