सुदूरपश्चिमका पहाडी तीन जिल्लामा उद्योग खोल्ने : मन्त्री भट्ट
बैतडी । चालु आर्थिक वर्षभित्रै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुरामा तीन वटा उद्योग स्थापना गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले बताएकी छन् ।
बैतडीको दशरथ चन्द नगरपालिका–५, सुन्दरखालीमा तेजबहादुर चन्द ट्रस्टद्वारा आयोजित नगरस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यहाँको सम्भावनालाई मध्यनजर गर्दै सोहि व्यावसायमा आधिरित उद्योग खोल्ने बताइन् ।
भट्टले बैतडीका धार्मिक स्थलहरूको समुचित विकासका लागि समेत आफूले बजेट विनियोजन गरेको दावी गरिन् । शहिद दशरथ चन्दको प्रेरणावाट आफू राजनीतिमा लागेको भन्दै उनले सामाजिक परिवर्तन आफ्नो जिम्मेवारी सम्झेर अगाडि बढ्ने उनले बताइन् ।
“समाजलाई बदल्नु मेरो दायित्व हो” उनले भनिन्, “समाज परिवर्तनका लागि सबैको सहयोग आवश्यक पर्छ, राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर साथ दिन सबै राजनीति दलहरूलाई आग्रह गर्दछु ।” उनले प्रशस्त सम्भावना रहेको बैतडीको विकासका लागि स्वयं जनता समेत उठ्नुपर्ने बताइन् ।
प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता छ । कात्तिक २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमश: एक लाख एक, ५० हजार एक र २० हजार एक रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।