निर्मला हत्या घटना : आफन्तले शुरु गरे अनिश्चितकालीन धर्ना
कञ्चनपुर । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका आमा बुवाले सुरु गरेको अनिश्चितकालिन धर्ना सोमबार पनि जारी छ ।
काठमाडौंमा प्रधानमन्त्री तथा गृहमन्त्रीसँग समेत भेटी छोरीको हत्यारा पत्ता लगाइदिन माग गर्दा समेत अपराधि पत्ता नलगाइएपछि निर्मलाका बुबाआमाले आइतबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका छन् । छोरीको हत्यारा पत्ता लगाउन सरकार गम्भिर नदेखिएकाले धर्नामा बस्नु परेको निर्मलाको परिवारले बताएको छ ।
पन्तको परिवारलाई अधिकारकर्मीले पनि साथ दिएका छन् । छोरीको हत्यारा पत्ता नलागेसम्म धर्ना जारी राख्ने उनीहरुले बताएका छन् । गएको साउन १० गते साथीको घरमा कापी लिन गएकी चीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।
मेडिकल रिपोर्टमा उनको बलात्कारपछि हत्या गरिएको देखिएको थियो । पन्तको बलात्कारपछि हत्या भएको पुष्टिको १ सय १० दिन भइसक्दा पनि घटनामा संलग्न पक्राउ परेका छैनन् । घटना अनुसन्धानका लागि छानविन समितिहरु बनेपनि हत्यारा पत्ता लाग्न सकेको छैन । अनुसन्धानमा लापरवाही गेको भन्दै पाँच प्रहरीलाई निलम्बन गरिएको छ भने दुईजना बर्खास्त भएका छन् ।
अनुसन्धान प्रगति शून्य, हचुवामै डिएनए
बालिका पन्तको बलात्कारपछि हत्यामा गम्भीर लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई हटाएर उनको ठाउँमा एसपी कुवेर कडायतलाई पठाइएको थियो । पछि एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहमन्त्रालय सेवाबाट समेत हटाएको छ ।
विष्टको ठाउँमा जिम्मेवारी सम्हाल्न पुगेका एसपी कडायतको टोलीले अहिले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा कुनै प्रगति नभएको एसपी कडायतले बताएका छन् । अनुमानकै भरमा चार जनाको डिएनए परीक्षण गर्नुबाहेक कडायतको टोलीले पनि नयाँ क्लु फेला पार्न सकेको छैन ।
अनुमानकै भरमा डिएनए परीक्षण गरेकाले प्रहरीले परीक्षण गरिएकाको नाम समेत गोप्य राखेको छ । चार जनाको डिएनए रिपोर्ट आएपछि अन्य व्यक्तिको पनि डिएनए चेक गर्ने एसपी कडायतले बताए ।
प्रहरीले डिएनए चेक केही शंका र हचुवाकै भरमा लिादै आएको प्रहरीकै कुराबाट प्रष्ट भएको छ । अनुसन्धान प्रगति शून्य र लिंक नै पत्ता लाग्न नसकेको भनिरहेको बेला प्रहरीले अन्धाधुन्ध डिएनए परीक्षण गर्दै आएको प्रष्ट हुन्छ ।
यसअघि नागरिकको दबाबकै भरमा एसपी डिल्लीराज विष्ट, छोरा किरण विष्ट, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गरिएको थियो । त्यो भन्दाअघि दिलिपसिंह विष्ट, चक्र बडुको डिएनए परीक्षण नेगेटिभ देखिसकेको थियो ।
सोधपुछ र बयान लिनेबाहेक अन्य कुनै काम अनुसन्धानमा खटिएको प्रहरी टोलीले गर्न सकेको छैन । अनुसन्धानमा बालबालिका तथा महिला निर्देशनालयकी एसपी दुर्गा सिंह पनि खटिएकी छिन् । सिंहको टोलीले केही नयाँ कुरा बाहिर ल्याउन सकेको छैन ।
पोलिग्राफदेखि बैंक एकाउन्टसम्म चेक
अनुसन्धानमा खटिएका प्रहरी टोलीबाट नै गम्भीर लापरबाही भएको भन्दै प्रहरी प्रधान कार्यालयले गत भदौ ३१ गते एआइजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । समितिमा डिआइजी निरज शाही, एसएसपी उत्तम सुवेदी, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीलगायत ९ जना छन् ।
टोलीले अनुसन्धानमा सिआइबीबाट खटिएको टोली, घटनास्थलमा गएको टोली, एसपी विष्टलगायत २० जना प्रहरीमाथि अनुसन्धान गरिरहेको छ । एआइजी बस्न्यातको टोलीले घटनामा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न प्रहरी अधिकारीको पोलिग्राफ परीक्षणदेखि बैंक एकाउन्टसम्म चेक गरिसकेको छ ।
घटना गुपचुप पार्न आर्थिक चलखेल भएको छ कि भनेर बस्न्यातको टोलीले प्रहरी अधिकारी र उनीहरुका आफन्तहरुको बैंक एकाउन्ट चेक गर्दा समेत कुनै क्लु फेला पार्न नसकेको स्रोतले जानकारी दियो ।
त्यसैगरी झुटो बोलेको पत्ता लगाउन पोलिग्राफ चेक गर्दा समेत कुनै तथ्य फेला पार्न सकेको छैन । शंकास्पद प्रहरी अधिकारीको मोबाइल चेक, कल डिटेललगायत सबै कुराहरु चेक गर्दा पनि घटनाले कुनै नयाँ कुरा पत्ता लगाउन नसकेको स्रोतले जानकारी दियो ।