भोलिदेखि लिटिलफ्लावर प्रिमियर लीग शुरु हुँदै
धनगढी । भोलि (मंगलबार) देखि धनगढीमा निष्ट कलेज लिटिलफ्लावर प्रिमियर लीग (एलपीएल) शुरु हुँदैछ ।
आज लीगको पूर्वसन्ध्यामा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक संस्कार क्रिकेट एकेडेमीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइयो ।
आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगितामा सहभागी हुने टिमहरू धनगढी आइपुग्ने क्रम जारी रहेको बताए ।
उनका अनुसार प्रतियोगितामा कैलालीका छ, कञ्चनपुरका दुई, बाँके, काठमाडौं र भक्तपुरका एक/एक टिम सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता आगामी मंसिर ४ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा सहभागी हुने टिमले सम्बन्धित विद्यालयका विद्यार्थी खेलाडी बाहेक बाहिरबाट १९ वर्ष मुनिका पाँच जना खेलाडी राख्न पाउने उनले बताए ।
प्रतियोगिताको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन धनगढी र निष्ट स्कुल भक्तपुरबीच हुने जनाइएको छ । त्यस्तै, भोलिनै हुने दोस्रो खेल क्यास्पियन एकेडेमी धनगढी र शारदा मावि बैय्याबेहडीबीच हुने छ ।
आयोजक संस्कार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय तथा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले पाँच, पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैबीच, सोमबार प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ ।