१४ पुष २०८२, सोमबार

निर्मला हत्याकाण्ड : पीडित परिवारले शुरु गरे, अनिश्चितकालीन धर्ना



धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाव दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चितकालीन धर्ना दिन सुरु गरेका छन् ।
निर्मलाका बुवा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरूले न्यायका लागि सरकारलाई दवाव दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरु गरेका हुन् । सरकारलाई न्याय दिन बाध्य पार्न थप दवाव दिन अनिश्चितकालीन धर्ना दिन सुरु गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले जानकारी दिए ।
धर्ना दिनुअघि निर्मलाका हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै अधिकारकर्मीहरूसहितको र्‍याली निकालिएको थियो । सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र सञ्चारकर्मीहरूकै उपस्थितिमा थप दवाव दिन धर्ना अभियान सुरु गरिएको पनि यज्ञराजले बताए । नागरिक समाज र सञ्चारकर्मीहको पहलमा भने निर्मलाले न्याय पाउने पीडित परिवारको विश्वास छ ।
पीडित परिवारले निर्मलाले न्याय नपाए आमरण अनसन बस्ने चेतावनी पनि दिएका छन् । यज्ञराजले छोरीलाई बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गरी कारवाही नगरे आफूहरू आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिए । उनले सरकारले अपराधीलाई पत्ता लगाउन नसकेकोमा आक्रोश व्यक्त गरे ।
धर्नामा निर्मलाका बुबाआमासँगै बहिनी सरस्वती र भाइ मोहितसमेत सहभागी छन् । त्यसैगरी, कान्छी आमा लक्ष्मी र आफन्तहरू पनि धर्नामा सहभागी भएका छन् । यसअघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेट गरी धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए । निर्मलाका दिदीबहिनी तथा भाइ विद्यालयको पोसाकमै धर्नामा बसेका छन् ।
यज्ञराजले छोरीको हत्यारा पत्ता नलागे आफूहरू मर्न तयार हुने चेतावनी पनि दिए । गत श्रावण १० गते साथीको घरमा गएकी निर्मलाको दोस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । सोही दिनदेखि हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवार, आफन्तको साथमा देशभर आन्दोलन भएको थियो । सरकारले भने अनुसन्धान जारी रहेको भनेपनि हालसम्म अपराधी पत्ता लगाउन सकेको छैन ।
त्यसक्रममा निर्मलाका बुबाआमा न्याय माग्दै काठमाडौं समेत आएका थिए । प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आग्रह गर्दा पनि अझै आफूहरूले न्याय पाउन नसकेको निर्मलाका बुबा यज्ञराज र आमा दुर्गाको गुनासो छ । पीडित दुवैले छोरीले न्याय नपाए आफूहरू आत्महत्या गर्न तयार हुनेतर्फ पनि सरकारलाई सचेत गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार