२ जेष्ठ २०८१, बुधबार

मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुको भाइटीका



धनगढी । सुदूरपश्चिम प्रदेशका भिआईपीहरुको भाइटीका विभिन्न स्थानमा हुने भएको छ । शुक्रबार प्रदेशबासीले भाइटीका मनाइरहदा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुले पनि भाइटीका लगाउने भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टकी एकमात्र बहिनी पशुपति अवस्थी डोटीमा छिन् । उनले डोटीमा रहेका दाजुभाइलाई टीका लगाएर धनगढी आउने कार्यक्रम छ । दशैंको टीका थाप्न डोटीस्थित घर पुगेका मुख्यमन्त्री भट्ट भाइटीका थाप्न डोटी नजाने भएका छन् । बहिनी पशुपति धनगढी आउन भ्याएमा भाइटीका लगाउने, नआए नलगाउने कार्यक्रम रहेको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीले बताए ।

त्यसैगरी, स्वकिय सचिव कबिन्द्र रोकायाका अनुसार सभामुख अर्जुनबहादुर थापाले ७१ वर्षीया दिदि हिरा बोगटीसंग धनगढी वडा नं. १ शिवनगर स्थित आफ्नो घरमा भाइटीका थाप्ने छन् ।

सामाजिक विकासमन्त्री दीघ सोडारीले धनगढीस्थित सरकारी सुविधाको निवासमा आफ्नै बहिनी रम्भा सोडारी र धर्म बहिनी नेत्रा नाथको हातबाट भाइटीका ग्रहण गर्ने बताए ।

भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले पर्शुराम नगरपालिका ४ कटान पुगेर आफ्ना चार बहिनीको हातबाट भाइटीका ग्रहण गर्ने भएका छन् । उनका स्वकिय सचिव केशव अवस्थीका अनुसार बहिनीहरु सीतादेवी धामी, धनदेवी बोहरा, तारादेवी साउाद र सरुदेवी धामीसंग पर्शुराम–४ स्थित मन्त्री बोहराकै घरमा भाइटीका लगाउने कार्यक्रम छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले धनगढी ४ स्थित आफ्नै घरमा दिदी नन्दा बोहरालाई बोलाएर भाइटीका थाप्ने कार्यक्रम रहेको बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बर्दियास्थित माइती घरमा गएर दाजुभाइलाई भाइटीका लगाइदिने भएकी छन् । बिहीबार मन्त्री चौधरी बर्दिया गएको उनका सहयोगी दीर्घ विनाडीले बताए ।

सवै भन्दा पछि अघिल्लो महिना उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका प्रकाश रावलले चार जना दिदीबहिनीको हातबाट महेन्द्रनगरस्थित आफ्नै घरमा भाइटीका लगाउने छन् ।

मन्त्री शाह र भट्टको तिहार नहुने

आन्तरिक मामिला  तथा कानुनमन्त्री प्रकाश शाहको दाइ वितेको हुनाले उनले भाइटीका छैन । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टकी ८० वर्षीया आमा हरिकलादेवी चन्द गतवर्ष निधन भएकोले यसपटक उनको भाइटीका लगाउने कार्यक्रम छैन । केही दिनमै मन्त्री भट्टकी आमाको बार्षिक तिथी मनाइदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार