१४ पुष २०८२, सोमबार

कैलालीमा नेकपाको भागवण्डा सकियो



धनगढी । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को कैलालीमा भागबण्डाको टुंगो लागेको छ ।
सहमति भएको खाका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये १, २ र ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संयोजक तत्कालीन एमालेको भागमा परेको छ भने क्षेत्र नम्बर ४ र ५ को संयोजक तत्कालीन माओवादी केन्द्रले पाउने भएको छ ।
त्यस्तै कैलालीका १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये २ को क, ३ को ख, ४ को क र २ तथा ५ को क, प्रदेश सभा समन्वय कमिटीको संयोजक तत्कालीन एमालेको भागमा परेको छ । भने तत्कालीन माओवादी केन्द्रले १ को क र ख, २ को ख, ३ को क र ५ को ख नम्बर प्रदेश सभा समन्वय समितिको संयोजक पाउने भएको छ ।
तत्कालीन एमालेका जिल्ला कार्यालय सचिव विमलकुमार जोशीका अनुसार १३ बटा स्थानीय तहमध्ये तत्कालीन एमालेले सात तथा तत्कालीन माओवादी केन्द्रले छ वटाको नेतृत्व पाउने छन् ।
तत्कालीन एमालेले धनगढी उपमहानगरपालिका तथा लम्कीचुहा, गौरीगंगा र घोडाघोडी नगरपालिका तथा जोशीपुर, जानकी र चुरे गाउँपालिका कमिटीको नेतृत्व पाउने छ ।
त्यस्तै तत्कालीन माओवादीले टीकापुर, गोदावरी र भजनी नगरपालिका तथा मोहन्याल, कैलारी र बर्दगोरिया गाउँपालिका कमिटीको नेतृत्व पाउने छ ।
बैठकमा तत्कालीन एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी, उपाध्यक्ष रतन थापा, सचिव रणबहादुर चन्द र उपसचिव नेपालु चौधरी तथा माओवादीका अध्यक्ष लालबहादुर सोडारी र नेता रमेश धामीको उपस्थिति थियो ।
बैठकले स्थानीय तहका वडाको नेतृत्वको खाका पनि तयार गरेको छ । सहमति अनुसार हरेक कमिटीमा बन्ने पाँच सदस्यीय कार्यालयमा अध्यक्ष पाउने पक्षले तीन र सचिव पाउने पक्षले दुई सदस्य पाउने छन् ।
प्रतिनिधि सभा, प्रदेशसभा, नगर, गाउँ र वडा कमिटीमा रहने व्यक्तिको छनोट हुन अझै केही समय लाग्ने जनाइएको छ ।
नेकपाको धनगढी उपमहानगर कमिटी १०१ सदस्यीय रहने र सो कमिटीमा तत्कालीन एमालेका ५५ र तत्कालीन माओवादीका ४६ जना रहने छन् ।
त्यस्तै, नगरपालिका स्तरीय कमिटीहरू ८१ सदस्यीय रहने र ती कमिटीमा तत्कालीन एमालेका ४४, तत्कालीन माओवादीका ३७ जना रहने निर्णय गरिएको छ ।
त्यस्तै, गाउँपालिका कमिटी ७५ सदस्यीय रहने तथा तत्कालीन एमालेका ४१ र तत्कालीन माओवादीका ३४ जना सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार