खप्तड गोल्ड कपको सचिवालय उद्घाटन (भिडियोसहित)
धनगढी । सुदूरपश्चिम–११ स्पोटर्स क्लवको सचिवालयको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले उद्घाटन गरेका छन् ।
सचिवालय उद्घाटनपछि विभिन्न चाड पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री सोडारीले क्लवले आयोजना गर्ने खप्तड गोल्ड कपका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
सुदूरपश्चिमको मात्रै होइन देशकै नाम चिनाउन सफलता पाएको सुदूरपश्चिममा गोल्डकप आयोजना हुनु खुसीको कुरा हो मन्त्री सोडारीले भने यो प्रतियोगिता निरन्तरताका लागि सबैको पहल आवश्यक छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नगरपालिकाले हरेक खेलकूद प्रतियोगितामा सहयोग गर्दै आएको बताउँदै गोल्डकपका लागि पनि सहयोग गर्ने बताए ।
क्लवले विगत तीन वर्षदेखि खप्तड गोल्डकप आयोजना गर्दै आएको छ । यसपटकको तेस्रो संस्करण पुस २१ देखि माघ १ गतेसम्म सञ्चालन हुने क्लवका अध्यक्ष सुरेश हमालले बताए ।