७ चैत्र २०८१, शुक्रबार

निर्मला हत्याकाण्ड : अभिभावकको गुहार– हामीलाई सुविधा होइन, न्याय देऊ



धनगढी । कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तका बलात्कारपछि हत्या भएको तीन महिना नाघेको छ, तर अहिलेसम्म पीडितले न्याय पाउन सकेका छैनन् । न त प्रहरीले अहिलेसम्म घटनाको सत्यतथ्य तथा वास्तविक दोषि नै पत्ता लगाउन सकेको छ ।
घटना भएदेखि नै देशभरी निर्मलाका लागि न्याय अभियान जारी छ । कञ्चनपुर, कैलाली, काठमाडौंसहित देशैभरी नागरिक स्तरमा विभिन्न चरणमा आन्दोलन भए । विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गरियो । देशभित्र र बाहिरबाट व्यापक दवाव सिर्जना भयो । कञ्चनपुरमा निर्मलाको हत्यामा संलग्न दोषि पत्ता लगाउने माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्य भयो । घटनाको छानबिनमा लापरवाही गरेको भन्दै सरकारले एक जना एसपी र एक जना प्रहरी निरीक्षकलाई बर्खास्त गरिसकेको छ । घटनाको छानबिनका लागि अनुसन्धान टोलीमाथि टोली बने । प्रतिवेदन पेस भए, तर अहिलेसम्म निर्मला हत्याकाण्डको न त सत्यतथ्य नै सार्वजनिक भएको छ, न वास्तविक दोषि नै पत्ता लागेका छन् ।
“हामीले सरकारसँग न्याय मागेका हौं । हामीलाई अरू केही सुविधा चाहिएको होइन” बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन नागरिक समाजको टोलीसँग आएका निर्मलाका बुबा यज्ञराज पन्तले सञ्चारकर्मीहरूसँग भने– “हामीले कोहीकसै प्रहरी अधिकारीलाई बर्खास्त गर पनि भनेको छैनौ । न त हामीले कुनै महल वा चिल्लो गाडीको नै माग गरेका हौं । हामीले मात्र न्याय मागेका छौं । त्यो दिन सरकारले किन कन्जुस्याई गरिरहेको छ ।”
निर्मलाका बुवा यज्ञराजले विभिन्न अनुसन्धान टोली गठन, डिएनए परीक्षण गर्ने देखि मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषिका रूपमा प्रस्तुत गर्ने लगायतका सबै गतिविधिलाई सरकारको नौटंकीको संज्ञा दिए । उनले भने– “प्रहरीले घटनाको सुरुदेखि नै अनुसन्धानमा लापरवाही गरेको छ ।”
उनले सरकारले ‘निर्मलाको हत्यारा पत्ता लगाउन सक्दैनौ भनेर घोषणा गर्‍यो भने आफूहरू चुप लागेर बस्ने’ बताए । उनले भने– “प्रहरी कार्यालय धाउँदाधाउँदै तीन महिना बितिसक्यो, छोरीले न्याय कहिले पाउने हो ?”
यज्ञराजसँगै निर्मलाकी कान्छी आमा, दिदी मनिषा र भाइ पनि रहेका थिए । सबैले निर्मलालाई न्याय दिन मुख्यमन्त्रीसँग माग गरे ।
यसअघि नागरिक समाज कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि मुख्यमन्त्री कार्यालयसम्म दवाव र्‍याली निकालिएको थियो । निर्मलालाई न्याय दे, गृहमन्त्री राजीनामा लगायतका विभिन्न नारा बाजी गरेका थिए ।
मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवा यज्ञराजले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
ज्ञापनपत्रमा छठसम्म निर्मलाको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ । नागरिक समाजकी संयोजक मीना भण्डारीले ज्ञापनपत्र पढ्दै निर्मला हत्याकाण्ड भएको ९८ दिन पुगिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नुको कारण थाहा पाउन नसकेको गुनासो गरिन् । उनले अपराधी कानून र सरकार भन्दा बलियो होकी भन्ने प्रश्न गरिन् । उनले प्रश्न गरिन् “के विधिको शासन धनी वर्गलाई मात्र हो ?”
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन संघीय सरकारलाई दवाव दिइरहेको बताए । उनले यो घटनालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएको बताए । “यो घटनाको सत्यतथ्य र अपराधीलाई कारवाही हुनुपर्छ भनेर प्रदेश सरकारले सुरु देखिनै आफ्नो ठाउँबाट हुनुपर्ने काम गरेको छ” मुख्यमन्त्री भट्टले भने– “प्रदेश सरकारले यो घटनाका बारेमा चासो नदिएको भन्ने हल्ला गर्नु गलत हो ।”
उनले “यति दिन बितिसक्दा पनि अपराधी पत्ता नलाग्दा प्रहरी र सरकारमाथिको विश्वास कम हुनु स्वाभाविक भएको” बताए । “तर ढुक्क हुनुहोस्, अपराधी पत्ता लाग्छ र कानून बमोजिम सजाय पनि हुने छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार