३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिममा मल अभाव कायमै



धनगढी । कैलाली लगायत सुदूरपश्चिम प्रदेशका किसानहरूलाई अरू वर्ष जस्तै यो वर्षको हिउदे बालीका लागि आवश्यक पर्ने रसायनिक मल अभाव हुने भएको छ ।
सरकारी अनुदानको मल बिक्रीवितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो । मल अभाव हुँदा यस वर्ष तोरी र गहुँको उत्पादन घट्ने स्थानीयमा चिन्ता छ ।
धनगढीस्थित कृषि सामग्री कम्पनीले दैनिक आउने मलभन्दा किसानको तेब्बर बढी माग रहेको जनाएको छ ।
केही मात्रामा दैनिक रसायनिक मल आइरहेकाले भएपनि आवश्यकता अनुसार पुर्ति हुन नसकेको कृषि सामग्री कम्पनी क्षेत्रीय प्रवन्धक दुर्गाप्रसाद पाण्डेयले बताए । उनले सुदूरपश्चिममा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यक्ता पर्ने भएपनि करिब २० हजार मेट्रिकटन मात्रै मल पुग्ने गरेको उनले बताए । आवश्यक्ता अनुसार मल आपूर्तिका लागि सरकारी पक्षबाट पहल नहुँदा समस्या आएको उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयले ३० प्रतिशत रसायनिक मल वितरण गरिसकेको जानकारी दिए । भइरहेको छ । कृषकहरूको सहजताका लागि २०७० सालबाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि विक्री गर्न पाउने व्यवस्था गरेको थियो ।
गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालकहरू दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन् । कार्यालयले सबै स्थानीय तहमा पुर्‍याउने उद्देश्यका साथ मल वितरण गरिरहेको छ । दैनिक सहकारीमा धाएर किसानले हैरान पारेपछि सहकारी सञ्चालकहरू पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न बाध्य भएका छन् । किसानको मागको आधा पनि मल नपुग्दा किसान समस्यामा परेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार