२ जेष्ठ २०८१, बुधबार

व्यवस्थित पार्किङ स्थल प्रयोग गर्दैनन् सवारी चालक



धनगढी । व्यवस्थित सवारी पार्किङको प्रयासस्वरूप धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा हलुका सवारी साधानका लागि नि:शुल्क पार्किङ स्थल तोके पनि प्राय: सवारी साधन चालकले चासो दिने गरेका छैनन् । बरु बजारमा जहाँतही जथाभावी ढंगले सवारी साधन खडा गर्ने प्रवृत्तिले भने निरन्तरता पाइरहेको छ ।
धनगढी उपमहानगरपालिकाले केही महिनाअघि पशुसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडीको सडक किनारा सहित केही स्थानमा नि:शुल्क सवारी पार्किङ स्थल निर्धारण गरेको छ । ती नि:शुल्क पार्किङ स्थलमा कहिलेकाही मात्रै फाटफुट रूपमा मोटरसाइकल र स्कुटी पार्किङ गरेको पाइन्छ । तर, निकै भीडभाड हुने एलएनचोक र पश्चिम कैलाली पुलसम्म, पार्कमोडदेखि टेलिकमसम्म, साल्टट्ेरडिङ तथा बसपार्क अगाडिको सडक, चौराह लगायतका स्थानमा भने जथाभावी ढंगले मोटरसाइकल, जीपकार सहितका सवारी साधन अड्याउने प्रवृत्ति भने कायमै रहेको पाइन्छ ।

फाइल तस्बिर

उपमहानगरपालिकाले लक्ष्मीनारायण चौकदेखि पार्कमोडसम्मलाई लक्षित गरेर बनाएको नि:शुल्क पार्किङ स्थलसँगै पार्किङ निषेधित क्षेत्र पनि तोकेको छ, तर प्राय:ले पार्किङ निषेधित क्षेत्रमा नै सवारी साधन राख्ने गरेको पाइन्छ ।
त्यस्तै, जिल्ला समन्वय समितिदेखि सेती अञ्चल अस्पतालसम्मको बजारलाई लक्षित गरेर जिल्ला जनस्वास्थ्य कार्यालय अगाडि र अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्मलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय अगाडि नि:शुल्क पार्किङ स्थल बनाएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले ‘पार्किङको अर्को व्यवस्था नभएसम्मका लागि मुख्य बजारका केही चौडा सडक भएका ठाउँलाई सदुपयोग गरी पार्किङ स्थल बनाइएको’ बताए । “तर, अझैं पनि पार्किङ स्थलमा मात्र सवारी साधन पार्किङ गर्नेतर्फ सजग भएको पाइदैन” उनले भने ।
धनगढीको मुख्य बजारमा रहेका बैंक र अस्पतालहरू अगाडि सबैभन्दा बढी मोटरसाईकल सहितका सवारी साधन राख्ने गरिएको पाइन्छ । यसले गर्दा ती सडकमा यातायात अस्तव्यस्त हुने गरेको छ ।
नगर प्रमुख वडले भने– “ट्राफिक प्रहरी उपस्थित भएका बेला मात्र सवारी धनीले पार्किङ स्थलमै राख्ने र नभएको समयमा जहाँ पायो त्यही राख्ने प्रवृति रहेको देखिन्छ ।” उनले ट्राफिक प्रहरीलाई पार्किङ व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
धनगढी उपमहानगरपालिकाले यो सँगै सवारीको चापलाई मध्यनजर गर्दै खुला स्थानमा शुल्क तिरेर पार्किङ गराउने प्रक्रिया अघि बढाइरहेको जनाएको छ । नगर प्रमुख वडले भने– “तिहारपछि यो प्रक्रिया अघि बढ्छ ।”
धनगढीभित्र बैंक, क्लिनिक, अस्पताल, व्यवसायीहरूले अगाडि पार्किङको व्यवस्था नगर्दा सवारी साधन व्यवस्थापनमा समस्या हुने गरेको छ ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले तोकिएको ठाउँमा पार्किङ नगर्नेलाई कारवाही गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार