२ जेष्ठ २०८१, बुधबार

कैलाली बसाई सफल : एसपि घिमिरे



धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेको बिहीबार बिदाई भएको छ ।
प्रहरी उपरीक्षक घिमिरेले बिहीबार जिल्ला प्रहरी कार्यालय धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी कैलाली बसाई सफल र सुखद् भएको बताएका छन् । उनले जिल्लाका सबै पक्षहरूको सहयोगले आफ्नो कार्यकालमा भएको कुनै पनि घटनाहरू पेन्डिङ नरहेको बताएका छन् ।
प्रदेश र प्रतिनिधि सभाको चुनावी सुरक्षा, होलीको समयमा टीकापुरमा भएको हत्या, धनगढी चौराहाको आइएमईमा लुटपाट, मसुरियाकी माया विकको बलात्कारपछि हत्या, सुखडको बालिका बलात्कार, बालक अपहरण, लम्कीको श्रीमान्द्वारा श्रीमतीको हत्या, गोदावरीको प्रेमीसँग मिलेर श्रीमान्को हत्या, जोशीपुरको व्यापारी हत्या, मोटरसाइल चोरी लगायतका एक दर्जन बढी घटनाका अभियुक्त पक्राउ गर्न चूनौतिपूर्ण भएपनि स्थानीयको सहयोगले सफल भएको प्रहरी उपरीक्षक घिमिरेले बताए । उनले धनगढीको एक क्यासिनोमा प्रहरीले छापा मारेको घटनाले राज्यको कोष बढाउनमा सहयोग गरेको बताए ।
प्रहरी उपरीक्षक घिमिरेको सरुवा नेपाल सरकारले चितवनस्थित प्रहरी अधिकृत शिक्षालयमा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको एक महिना पहिले सरुवा भई कैलाली आएका प्रहरी उपरीक्षक घिमिरेको नेतृत्वमा कैलाली जिल्ला प्रहरी कार्यालयलाई एक वर्षको कार्य सम्पादन मूल्यांकन गर्दै नेपाल प्रहरीको मुख्यालयले कार्य सम्पादनमा सफल तेस्रो स्थान दिएर सम्मान गरेको थियो ।
कैलाली जिल्ला प्रहरी प्रमुख भएर स्यांजा जिल्लाका प्रहरी उपरीक्षक आभुषण तिमिल्सिना आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार