२२ बैशाख २०८१, शनिबार

तीन महिनामा सडक दुर्घटनामा २५ को ज्यान गयो



धनगढी । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष २०७५/०७६ को शुरुको तीन महिनामा सडक दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा २१ वटा सवारी दुर्घटना भएका थिए ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा चार वटा सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै, गत भदौ महिनामा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सवारी दुर्घटनाका १४ का घटनामा सात जनाले ज्यान गुमाएका थिए । भने गत असोज महिनामा भएका ११ वटा सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष सवारी दुर्घटनामा बृद्धि आइरहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भएका एक सय ५५ सवारी दुर्घटनामा एक सय २१ जनाले ज्यान गुमाएका थिए ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा प्रदेशमा एक सय ८४ सवारी दुर्घटना हुँदा एक सय ३२ जनाले ज्यान गुमाएका थिए । भने आर्थिक वर्ष २०७४/०७५ मा भएका एक सय ६४ सवारी दुर्घटनामा एक सय ६६ जनाले ज्यान गुमाएका थिए ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकका आधारमा हरेक वर्ष सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखाएको छ । अघिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा चार सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार