९ कार्तिक २०८१, शुक्रबार

धनगढी–दिपायल द्रुतमार्ग यसै वर्ष सञ्चालनमा आउछः मुख्यमन्त्री भट्ट



धनगढी । देशभर नागरिकहरु दशैं तिहार मनाइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दीर्घ सोडारीले शनिबार धनगढीदेखि गाेदावरी नगरपालिका वडा नं. ४ मा पर्ने चौकीगडासम्म पुगेर सो मार्गको अवस्था बुझेका हुन् । २०६४ बाट मार्गको ट्रयाक खोल्ने काम शुरु भएको थियो । मुख्यमन्त्री भट्टले आउँदो जेठभित्रै ट्रयाक खोल्ने काम सम्पन्न गरी धनगढीदेखि दिपायलसम्म गाडी चल्ने बाटो बनाउन निर्माण कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
धनगढीदेखि स्याउले, विपिनगर, गड्सेरा हुँदै दिपायलसम्म पुग्ने सो मार्गको लम्बाई ८२ किलोमिटर छ । निर्माण कम्पनी अनेष्ट कन्ट्रक्सनका टेकेन्द्र शाहीका अनुसार कैलालीमा ७ र डोटीमा ८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । कैलालीमा १८ किलोमिटर ट्रयाक खुलिसकेको छ । शाहीले केहि महिनामै ट्रयाक खोलिसकेर गाडी हिड्न सक्ने कच्ची सडक तयार हुने बताए ।


मुख्यमन्त्री भट्टले नेपाल सरकारले सो मार्ग निर्माण गर्ने जिम्मा प्रदेश सरकारलार्इ दिएको भएपनि केन्द्रीय सरकारबाटै निर्माण गर्नुपर्ने भनि सिफारिस गरिसकेको बताए । सामाजिक विकास मन्त्री सोडारीले केन्द्रीय सरकारले बजेट भाषणमा धनगढी–दिपायल द्रुतमार्गको लागि बजेट नछुट्याएको बताए । उनले केन्द्रीय सरकारले नबनाएपनि प्रदेश सरकारले त्यसका लागि बजेट छुट्याएर प्रदेशको गौरबको योजनामा राखी काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार