५ जेष्ठ २०८१, शनिबार

नौ वटै जिल्लामा झण्डा पुग्यो



धनगढी । राज्यमन्त्रीमा मंगलबार रावलको नियुक्ति भएसँगै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली झण्डा पुगेको चर्चा हुन थालेको छ ।
यसअघि मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी, सभामुख अर्जुनबहादुर थापा बझाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह बाजुरा, सामाजिक विकासमन्त्री दीर्घ सोडारी तथा विनिता चौधरी कैलाली, भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा डडेल्धुरा, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा अछाम र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले बैतडी जिल्लाको प्रतिनिधित्व गरेका छन् । उपसभामुख निर्मला जोशी बडालले दार्चुलाको प्रतिनिधित्व गरेकी छन् ।
यसैबीच, सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डलमा मन्त्री थपिने चर्चा चलेको छ । मन्त्रीमण्डलमा राज्यमन्त्रीका रूपमा थपिनेमा बझाङबाट निर्वाचित तथा प्रदेशका एक मात्र निर्वाचित प्रदेश महिला सांसद देवकी मल्लको सबैभन्दा बढी चर्चा रहेको छ ।
तर, मन्त्रीमण्डलमा दलित समुदायबाट प्रतिनिधित्व गराउनुपर्नेमा कञ्चनपुरबाट निर्वाचित एक मात्र दलित समुदायका सांसद मानबहादुर सुुनारको दावी भएपछि सांसद मल्ललाई मंगलबार नियुक्ति नगरिएको स्रोतको दावी छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रीमण्डल बढिमा ११ सदस्यीय बनाउन सकिने छ । संविधान अनुसार प्रदेश सभाको कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य रहेका छन् । सम्बन्धित समाचार

राज्यमन्त्री रावलद्वारा सपथ ग्रहण

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार