१० श्रावण २०८१, बिहीबार

ट्राफिक नियम: लागू हुन्छन्, पालना हुँदैनन्



धनगढी । चार वर्ष अघि यातायात मन्त्रालयले निर्णय गर्‍यो– ‘लामो दूरीका सार्वजनिक यातायातका साधनमा दुई जना चालक अनिवार्य रूपमा व्यवस्था गर ।’ बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सरकारले दुई जना चालक राख्नेसम्बन्धी निर्देशन गर्‍यो, तर त्यो निर्णय कागजमै सिमित भयो ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले केही दिनअघि दशैंतिहार लक्षित सवारी योजना बनाउँदै ‘प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका यात्रीबाहक रात्रि बसमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्था गर्ने’ निर्णय गर्‍यो । भौतिक पूर्वाधार मन्त्रालयले दुई सय किलोमिटरभन्दा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई जना चालक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकाले सोही अनुरूप काम गर्न यातायात व्यवसायीलाई आग्रह गरेको थियो ।
तर, यातायात व्यवसायीहरू भने प्रदेश मन्त्रालयले गरेको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न चुनौति बताउँछन् । सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले भने– “गाडीको अनुपातमा सवारी चालकको संख्या कम छ ।” उनले यातायात व्यवस्था कार्यालयले हेभी सवारी चालक अनुमतिपत्रको फाराम नखोलेका कारण सवारी चालकको संख्या कम भएको गुनासो गरे ।
अध्यक्ष सापकोटाका अनुसार मन्त्रालयले गरेको निर्णय सवारी सुरक्षाका लागि उपयूक्त भए पनि सरकारले सोही अनुपातमा जनशक्ति (चालक) को व्यवस्था गर्न कुनै ध्यान दिएको छैन ।
“कतिपय सवारी चालक विदेश पलायन भइसकेका छन् । नयाँ उत्पादन हुन सकेको छैन” अध्यक्ष सापकोटाले सरकारले यातायात व्यवसायीमाथि कमजोरी मात्रै औल्याउने, तर आफ्ना गल्तीप्रति ध्यान नदिएको गुनासो गरे ।
सुदूरपश्चिम बस व्यवसायी समितिले धनगढीदेखि नारायणघाट, बुटवल लगायतका स्थानमा चल्ने सवारी साधनमा दुई जना चालक राखेको भए पनि सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला लगायतका जिल्लामा जाने गाडीमा भने दुई जना चालक राख्न सकेको छैन ।
कर्णाली रिभर साइड यातायात व्यवसायी समितिका अध्यक्ष धीरज शाहीले भने आफूहरूले लामो दूरीमा चल्ने सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्था गरेको बताए ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी श्याम खड्काले दशैंतिहारमा विद्यालयका सवारी चालकहरू फ्रि हुने भएकाले सो समयमा उनीहरूको प्रयोग गरेर भए पनि लामो दूरीमा दुई चालक अनिवार्य राख्न निर्देशन दिइसकेको बताए । उनले मन्त्रालयले सोही अनुसार ट्राफिकको पनि व्यवस्थापन गरिसकेको बताए । उनले नियम कसैले पालना नगरेको पाएमा नियमानुसार कारवाही गर्न पनि आग्रह गरिसकिएको बताए ।
त्यस्तै, मन्त्रालयले गाडीको क्षमताभन्दा बढी यात्री नराख्न तथा यात्रु बोक्ने गाडीमा व्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात व्यवसायीलाई आग्रह गरेको थियो ।

दशैंतिहारलाई लक्षित गरी गाडी थपिँदै

यातायात समितिहरूले दशैंतिहारलाई लक्षित गरेर लामो दूरीमा चल्ने बस थप्न थालेका छन् । समितिहरूले सुदूरपश्चिम प्रदेशको धनगढीदेखि पहाडी सात जिल्ला तथा काठमाडौंदेखि धनगढी आउने यात्रुहरूको चाप अनुसार यातायात व्यवसायीहरूले गाडी थपिरहेको जनाएका छन् ।
सुदूरपश्चिमाञ्चल बस व्यवसायी समितिका अध्यक्ष सापकोटाले दशैंतिहारका लागि काठमाडौंदेखि धनगढी आउने यात्रुहरूका लागि गाडी थप गरेका बताए । उनले धनगढीदेखि पहाडी जिल्लामा जाने यात्रुको चाप विस्तारै बढ्ने क्रममा रहेको र सोही अनुसार गाडी थप गरिने बताए । अध्यक्ष सापकोटाका अनुसार बझाङमा तीन, बाजुरामा पाँच र दार्चुलाका लागि थप एक गाडी चलाइएको बताए ।
कर्णाली यातायात बस व्यवसायी समितिका अध्यक्ष शाहीले अहिले क्युमा रहेका गाडीलाई काठमाडौंबाट धनगढीसम्म चलाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार