“विपद् न्यूनीकरणका लागि बलियो स्वास्थ्य संस्था आवश्यक”
धनगढी । विपद्बाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न स्वास्थ्य संस्थाहरूलाई बलियो बनाउनुपर्ने विज्ञहरूको सुझाव रहेको छ ।
“विपद् जुनसुकै अवस्थामा जतिखेर पनि आउन सक्छ । विपद्ले मानवीय र भौतिक संरचनामा क्षति पुर्याउँछ” आइतबार धनगढीमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रोफेसर डाक्टर प्रदीप वैद्यले भने– “मानवीय क्षति हुँदा निदानका लागि पुग्ने भनेको स्वास्थ्य संस्थामा नै हो । त्यसैले विपद्बाट जोगिने अतिरिक्त योजनाहरू स्वास्थ्य संस्थाले अपनाउन जरुरी छ ।”
उनले स्वास्थ्य संस्थाहरूको भौतिक संरचना बलियो, त्यहाँका उपकरणहरूमा क्षति नपुग्ने, बिरामी तथा डाक्टरहरूले विपद्बाट भय हुनुपर्ने अवस्था सिर्जना नगर्ने लगायतको हुनुपर्ने बताए । “भौतिक संरचना नै कमजोर भएकोमा कुनै प्रकारका विपद् आइहाल्यो भने उपचार गरिरहेको चिकित्सकले बिरामीको ज्यान बचाउने कि आफनो ?” उनले भने– “त्यसैले स्वास्थ्य संस्थाको आइसियू, एनआइसियू, अप्रेशन कक्ष लगायतलाई कुनै पनि विपदले क्षति नहुने संरचना बनाउनु जरुरी छ ।” उनले प्रत्येक स्वास्थ्य संस्थाले विपद् पूर्व तयारी कार्ययोजना बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रस्तुतिकरण गर्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक डाक्टर गुणराज अवस्थीले विपद्ले पाँच वर्षको अवधिमा प्रदेशका नौ वटा स्वास्थ्य संस्थामा क्षती पुर्याइसकेको तथ्यांक सार्वजनिक गरे ।
“हाम्रोमा तथ्यांक राम्रोसँग राख्न सक्ने चलन छैन् । अहिले यति नौ वटा स्वास्थ्य संस्थामा क्षति भएको फेला परेको हो” उनले भने– “तर, प्रदेशमा रहेका धेरै स्वास्थ्य संस्थामा क्षति पुगिसकेको छ, तर त्यो फेला पर्न सकेन ।” क्षेत्रीय निर्देशक डाक्टर अवस्थीका अनुसार पाँच वर्षको अवधिमा हावाहुरी, बाढी र पुराना संरचनाका कारण स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।
उनले प्रदेशले बाढी, पहिरो, सडक दुर्घटना, भूकम्प, आगलागी, रोगको महामारी, वन्यजन्तुको आक्रमण लगायतका विपद्हरूबाट मानवीय तथा भौतिक क्षति व्यहोर्नु परिरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रदेश विपद्को जोखिममा रहेको बताए । उनले प्रदेशमा आउन सक्ने विपद् न्यूनीकरणका लागि सरोकारवाला सबैले एकअर्कासँग समन्वय, सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।
उनले विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न समाजलाई जागरुक र सचेतना फैलाउन जरुरी रहेको बताए ।
समाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मन्त्रालयका दयाकृष्ण पन्तले गरेका थिए । कार्यक्रममा प्रदेशका सांसद, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।