१० श्रावण २०८१, बिहीबार

१२ औं राष्ट्रिय जनगणनाको तयारी शुरु




धनगढी । केन्द्रीय तथ्यांक विभागले देशभरी १२ औं राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु गरेको छ । नेपालमा बिक्रम सम्वत १९६८ सालदेखि प्रत्येक १० वर्षको अन्तरालमो राष्ट्रिय जनगणना हुँदै आएको छ ।
राष्ट्रिय जनगणनाको तयारीका लागि केन्द्रीय तथ्यांक विभागले बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठी आयोजना गर्‍यो । विभागले आगामी राष्ट्रिय जनगणनाको सञ्चालन र व्यवस्थापन तथा तयारी योजना लगायतका विविध विषयगत तथा प्राविधिक पक्षमा सरोकारवालहरू बीच प्रारम्भिक मार्गचित्र जानकारी गराउनुका साथै संघीय संरचनामा तीनवटै सरकारको भूमिका, सरकारलाई आवश्यक पर्ने सूचना र तथ्यांक र प्रश्नावलीमा सुधार आदिका बारेमा सुझाव एवं पृष्ठपोषण संकलन गर्न कार्यक्रम गरिएको जनाएको छ ।
गोष्ठीको उद्घाटन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राष्ट्रिय जनगणनामा “मल्टी फ्याक्टर इन्डिकेटरको तथ्यांक समेत निकाल्ने गरी जनगणना गर्न” आग्रह गरे । उनले भने– “उन्नत प्रविधिको प्रयोगले समयको वचत, लागतमा कमी, जनशक्तिको बचत लगायत धेरै फाइदा रहेका हुनेछन् ।”
मन्त्री बोहराले सबै प्रकारका भौतिक विकास तथा आर्थिक विकासको आधार नै जनसंख्या तथ्यांक रहेको बताउए ।
सो अवसरमा उनले प्रदेश सरकारले नागरिक सीमा सहायता कक्ष सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । “यस विषयमा अहिले कार्यविधि तयार गरिरहेका छौं” मन्त्री बोहराले भने– “कार्यविधि स्वीकृत भएपछि कैलालीको भारतसँग जोडिएको सीमा त्रिनगर भन्सार, खक्रौला नाका र कञ्चनपुरको गड्डाचौकीमा नमुनाका रूपमा सञ्चालन गरिने छ ।”

कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका उपसंयोजक सुन्दरीदेवी चौधरीले जनगणनाबाट सबै क्षेत्रका तथ्यांक प्राप्त हुने बताइन् ।
कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जनसांख्यीक तथ्यांक विकास कार्यको अपनत्व हासिल गर्ने महत्त्वपूर्ण पक्ष रहेको बताए । उनले हरेक सरकारका तहले आफ्नो मार्गचित्र प्रयोग गर्न तथ्यांकले सहयोग पुगाउने बताए ।
“स्थानीय सरकारलाई वडास्तरसम्म तथ्यांक आवश्यक हुन्छ, त्यसका लागि विभागले वडास्तरसम्म पुग्ने गरी तथ्यांक दिनु पर्दछ” प्रजिअ श्रेष्ठले भने– “नीति निर्माण तथा दैनिक कार्यको लागि गुणस्तरीय तथ्यांक बिना काम गर्न थाल्यौ भने हामी निर्णयमा पुग्न सक्दैनौ ।”
कार्यक्रममा सहभागीहरूले जनगणनाको फिल्ड कार्यको अनुगमन राम्रो गर्नुपर्ने, नेपालबाट भारत गएका र भारतबाट नेपाल आएका नेपाली नागरिकको विवरण ल्याउने गरी जनगणना सञ्चालन गर्नुपर्ने, अगिंकृत नागरिकहरूको तथ्यांक पनि समेट्नुपर्ने, तेस्रो लिंगीको जनसंख्याका लागि प्रश्न राखी सही तथ्यांक ल्याउनुपर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको तथ्यांक जगणनाले समेट्नुपर्ने, हरेका नागरिकहरूको कामको पहिचान हुने गरी विवरण संकलन गर्नुपर्ने, चलन गरेको जग्गाको विवरणमात्र नभई बाझो जग्गाको पनि विवरण संकलन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
विभागका उपमहानिर्देशक डिल्लीराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय तथ्यांक विभाग जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको ऐतिहासिक पृष्ठभूमि, संवैधानिक महत्त्व, दिगो विकासका सूचकहरूको आधार, आर्थिक समृद्धि र सुखी नेपालीको अनुगमन तथा मूल्यांकनका आधार, आगामी जनगणनाको तयारी योजना सहित संगठन संरचना, जनगणना प्रयोग गरिने विधि र प्रविधि, प्रचारप्रसार र पैरवी, तालिम आदि योजनाहरू र संघीय संरचनामा जनगणना सञ्चालनमा आईपर्ने समस्या, यसको अवसर र चुनौतिका विषयमा विस्तृत प्रस्तुति गरेका थिए ।
त्यस्तै, जनसंख्या शाखाका निर्देशक शंकरलाल श्रेष्ठले राष्ट्रिय जनगणनाको स्थलगत कार्य, जनगणना २०६८ मा प्रयोग भएका प्रश्नावलीका अन्तरवस्तु, विगत जनगणनाको सिकाई र संघीय संरचनामा अपेक्षित सूचकहरूको बारेमा प्रस्तुति गरेका थिए ।
तथ्यांक कार्यालय कञ्चनपुरका निमित्त निर्देशक गोविन्द न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन तथ्यांक विभाग जनसंख्या शाखाका तथ्यांक अधिकृत दिनानाथ लम्सालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार