१२ श्रावण २०८१, शनिबार

संसद बैठक पुन: स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक मंगलबार दुई चोटी समय सार्दा पनि सञ्चालन हुन सकेन । असोज १४ गतेको प्रदेश सभा बैठकले प्रदेशको स्थायी राजधानीबारे गरेको निर्णयप्रति असहमति जनाउँदै प्रतिपक्ष दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले नाराबाजी गरेपछि मंगलबार दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो ।
मंगलबार दिउसो १ बजेसम्म प्रदेश सांसदहरू प्रदेश सभा भवनमा पुगे पनि प्रतिपक्षले अवरोध गर्ने संकेत पाएपछि सहमतिका लागि भन्दै ३ बजे सारिएको सचिवालयले सूचना टाँस गरेको थियो यसबीचमा सभामुखले प्रतिपक्षी, सत्तापक्षसँग सहमतिका प्रयास गरे पनि सहमति जुटेन ।
दिउसो ३ बजे संसद सचिवालयले अर्को सूचना टाँस गरी आज (बुधबार) दिउसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।
गत १२ गते शुक्रबारको प्रदेश सभा बैठकले दुई तिहाईका आधारमा ७ नम्बर प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी, तेघरी र नाम सुदूरपश्चिम पारित गरेको थियो । बैठकमा सो दिन प्रतिपक्षी काँग्रेस र राजपाले वहिस्कार गरेका थिए ।
प्रतिपक्षले वहिस्कार गरे पनि सभामुखले बैठकको प्रक्रिया अघि बढाएका थिए । संसद बैठकमा रहेको सत्तापक्षको दुई तिहाई बहुमतबाट राजधानी र नाम घोषणा गरिएको थियो । प्रतिपक्ष दलहरूले एक जना पनि प्रतिपक्षी सांसद सहभागी नभएको संसद बैठकको निर्णय लोकतान्त्रिक मूल्यमान्यता विपरित रहेकोले त्यो निर्णय नमान्ने भन्दै आएका छन् ।
प्रदेश सभाले गोदावरी, तेघरीको जंगलमा राजधानी राख्ने निर्णयको विरुद्ध धनगढीमा आन्दोलन तथा बन्द भएको थियो । अहिले चाडबाडका कारण आमहडताल स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार