१२ श्रावण २०८१, शनिबार

प्रदेश सातको नाम सुदूरपश्चिम, राजधानी तेघरी




धनगढी ।
प्रतिपक्षको विरोध र बहिस्कारबीच प्रदेश सभाले शुक्रबार प्रदेश सातको नाम र राजधानी राख्ने स्थान दुई तिहाई बहुमतले पारित गरेको छ ।
शुक्रबार दोस्रो पटक बसेको प्रदेश संसद बैठकमा उपस्थित ३८ जना सत्तापक्षका सांसदहरूले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी, तेघरी’ कायम भएको छ ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले “प्रदेशको राजधानी गोदावरी वडा नम्बर २ र ४ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस्” भन्ने प्रस्तावलाई प्रदेश सभाको दुईतिहाई बहुमतले स्वीकृत गरेको हो । प्रदेश सभामा ५३ जना सांसद रहेका छन् ।
बैठकमा सभामुख अर्जुनबहादुर थापाले संविधानको धारा २८८ को उपधारा २ बमोजिम उपस्थित रहेका ५२ जना सांसदमध्ये दुई तिहाई बहुमत पुग्न ३६ जनाको मत आवश्यक पर्नेमा ३८ जनाको मत पक्षमा परेकोले प्रदेशको नाम सुदूरपश्चिम र प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने गोदावरी भनिने ठाउँ पारित भएको घोषणा गरे ।
प्रदेशको नाम सुदूरपश्चिम स्वीकार गरेको नेपाली काँग्रेसले राजधानी धनगढी नै हुनुपर्ने माग गर्दै आएको थियो । काँग्रेसले संसदमा धनगढी मै राजधानी हुनुपर्ने संशोधन प्रस्ताव समेत दर्ता गरेको थियो ।
शुक्रबार बिहान साढे ११ बजे बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण दिउँसो एक बजेसम्मका लागि स्थगित भएको थियो । बैठक शुरु हुनासाथ काँग्रेसका सांसदहरूले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।
स्थगित संसद बैठक दिउँसो तीन बजेतिर पुन: शुरु भएको थियो । दोस्रो बैठकमा काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले धारणा व्यक्त गरेपछि प्रतिपक्ष सांसदहरूले सभा बहिस्कार गरेका थिए । काँग्रेस संसदीय दलका नेता रावलले प्रदेशको राजधानी गलत ठाउँमा राख्न लागिएकोले विरोध स्वरूप संसद बैठक बहिस्कार गरेको बताए ।
कांग्रेस सांसदहरूसँगै प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरू पनि बाहिरिएका थिए । प्रदेश सभामा काँग्रेसका १२ र राजपाका दुई सांसद रहेका छन् । राजपा सांसद मालामति रानाले प्रदेशको नामांकन तथा स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिमा राजपाका सांसदको प्रतिनिधित्व नगराएकाले शुक्रबारको संसद बैठक बहिस्कार गरेको बताइन् ।
प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी दलका सांसदहरूले बहिस्कार गरेका कारण बैठकमा ‘प्रदेशको राजधानी गोदावरी वडा नम्बर २ र ४, तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस्’ भन्ने प्रस्तावको विरुद्ध कुनै मत परेन । बिहीबार काँग्रेसका सांसद डिल्लीराज पन्तले संसद सचिवालयमा प्रदेशको राजधानी धनगढी नगरपालिका वडा नम्बर १ कायम गरियोस् भन्ने प्रस्ताव दर्ता गराए पनि शुक्रबारको बैठकमा पेस गरेनन् ।
शुक्रबार बिहान साढे ११ बजेको बैठक काँग्रेस सांसदहरूले अबरुद्ध गरेपछि दिउँसो १ बजे बोलाइपनि दिउसो ३ बजे पुन: शुरू भएको थियो । बैठकमा प्रदेशको राजधानी र नामको प्रस्तावमाथि छलफलपछि मतदान भएको थियो । नेकपाका प्रमुख सचेतक लामाको प्रस्तावमा सांसद वीरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेका थिए ।
सभामुख थापाले यसअघि प्रमुख सचेतक लामाको संयोजकत्वमा प्रदेशको नामांकन र राजधानी बारे सुझाव दिन पाँच सदस्यीय विशेष समिति गठन गरेका थिए ।
शुक्रबारको बैठकले डोटीको दिपायलमा प्रदेश सरकारका निर्देशनालय, तालिम केन्द्र तथा प्रतिष्ठानहरू राख्ने प्रस्ताव पनि पारित गरेको छ ।
बैठकले स्थायी राजधानीका लागि पारित भएको स्थानमा आवश्यक संरचनाहरू निर्माण नहुँदासम्म धनगढीमा प्रदेश सरकारका सबै मन्त्रालय तथा प्रदेश सभा रहने पनि निर्णय गरेको छ ।
संसदभित्र बैठक चलिरहँदा बाहिर भने धनगढी स्थायी राजधानी हुनुपर्ने माग गर्दै विरोध जारी थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार