२ जेष्ठ २०८१, बुधबार

काँग्रेस नेता महतको आरोप– सरकार कमिशनको खेलमा



धनगढी । नेपाली काँग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले वर्तमान सरकार कमिशनको खेलमा लागेको आरोप लगाएका छन् ।
“वर्तमान सरकार मुलुक र जनताको हितमा नभई कमिशनको खेलमा व्यस्त रहेको छ” नेपाली काँग्रेसको विधान संशोधनका लागि बिहीबार धनगढीमा आयोजित सुझाव संकलन सम्बन्धी प्रदेश नम्बर ७ स्तरीय भेलामा सहमहामन्त्री महतले भने– “वर्तमान सरकारले बुढीगण्डकी गेजुवालाई निर्माण गर्न दिने, पश्चिम सेती आफै बनाएर बेच्ने, प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी, तेघरी सार्ने काम कमिशनको खेलका रूपमा आएका छन् ।”
उनले केपी ओली नेतृत्वको वर्तमान सरकारले ‘सुखी नेपाली, समृद्धि नेपाली’ भन्ने नारा दिएको, तर सरकारको गतिविधि हेर्दा पार्टी र कार्यकर्ता पाल्नेबाहेक देशको विकासमा ध्यान नदिएको पाइएको बताए ।
नेता महतले अहिले मुलुकमा आर्थिक अनियमितता, बलात्कार, हत्या हिंसा लगायतका क्रियाकलाप बढेको तथा सरकारले जनतालाई सुरक्षाको अनुभूति दिलाउन नसकेको आरोप लगाए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा सरकारको कमजोरीका कारण नै अहिलेसम्म अपराधीको पहिचान हुन नसकेको आरोप लगाए । भने– “रक्षकनै भक्षक भएका छन् । यसमा लापरबाही होइन् जानजान गल्ती भएको छ ।”
नेता महतले प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी सार्नु उचित नहुने बताए । उनले भने– “हाम्रो मुलुकमा गरिबी छ । प्रदेश ७ झन् गरिब छ । धनगढीमा अस्थायी राजधानी बनेपछि थुपै्र संरचना निर्माणमा ठूलो रकम खर्च भइसकेको छ । त्यसैमा गोदावरी, तेघरीमा राजधानी सार्दा संरचना निर्माण मै अर्बौ रकम खर्च हुनेछ ।” उनले प्रदेश सरकार कसैको प्रलोभन वा इसारामा चलिरहेको आरोप लगाए । उनको आरोप थियो– “सात नम्बर प्रदेश राजधानी गोदावरी बनाउन खोजिनुमा कमिशनको खेल चलिरहेको छ ।”
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफुले प्रदेश ७ को राजधानी डोटीमा सार्न लागेको सोचेकोमा चुरेको फेदको वनमा लग्ने प्रयास भएको बताए । नेता पौडेलले प्रदेश राजधानी गोदावरी, तेघरीमा राख्ने सिफारिस गर्नुमा कसैको जग्गाको मूल्य बढाउन, वन काटेर करोडौं रकम हिनामिना गर्न वा निर्वाचनको समयमा भोट संरक्षण गर्ने खेल भएको शंका व्यक्त गरे । उनले धनगढीबाट राजधानी अन्यत्र सार्न नदिन आम नागरिक सडकमा ओर्लिन आग्रह गरे ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं विधान संशोधन समितिका सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला सभापति नरनारायण शाह मनुले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय नारायणप्रसाद साउँद र वीरबहादुर बलायर, संघीय तथा प्रदेश सभा सदस्य, प्रदेश सातका नेपाली काँग्रेसका सबै नौवटै जिल्लाका जिल्ला सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, एवं भातृ संगठनका अध्यक्षहरूको सहभागिता रहेको छ । कार्यक्रम आज समापन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार