२ जेष्ठ २०८१, बुधबार

सांसदहरुद्वारा मेयर वड विरुद्ध प्रशासनमा उजुरी



धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको अभिव्यक्तिका कारण आफूहरुको जिउज्यान असुरक्षित भएको भन्दै प्रदेश सांसदहरुले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् ।
प्रदेश सातका २२ जना सांसदहरुले आज जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई वड र उनका सहयोगीलाई पक्राउ गरी कारबाही गर्न र आफूहरुको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै उजुरी दिएका छन् । संसदहरुले दिएको उजुरीमा वडले बुधबार संसद चलिरहदा संसद भवन अगाडि ‘संसद भवन २४ घण्टाभित्र खाली नगरे उडाई दिन्छु । सत्तापक्षका संसदहरुको घर खोजी खोजी जलाई दिनु र भौतिक आक्रमण गर्नु’ भनेकोले शान्ति सुरक्षामा खलल पुग्ने, हुलदंगा हुन सक्ने, अपुरनीय क्षति हुन सक्ने खतरा बढेको उल्लेख छ ।
संसदहरुले वडले भड्किलो अभिव्यक्ति दिएको हुनाले धनगढीमा संसद्, संसद्को परिवार, घर, डेरा र संसद् भवनमा कुनै पनि घटना भए सोको जिम्मेवारी मेयर वडले लिनुपर्ने माग गरेका छन् । उनीहरुले संसद्लाई डर, धाक, धम्की, त्रास समेत दिएर आफ्नो पदीय आचरण र मर्यादा विपरित अमानवीय ढंगले प्रस्तुत भई सत्ता पक्ष र संसदहरुलाई सामाजिक र मानसिक दवाव दिएको उजुरीमा उल्लेख छ ।
संसद् लिलाधर भट्टले मेयर वडको अभिव्यक्ति आतंकारी जस्तो भएको बताए । उनले वडको अभिव्यक्ति लोकतन्त्र विरुद्ध रहेको बताए । वडले अपराधिक शव्द प्रयोग गरी धनगढीमा साम्प्रदायिक दंगा भड्काउने किसिमको अभिव्यक्ति दिएको हुनाले संसद्हरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताए ।
संसद्हरुले मुलुकी अपराध संहिता ऐन २०७४ भाग २ परिच्छेद १ को दफा ५८ अनुसार मेयर वडलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । संसद्हरुले मेयर वड विरुद्ध कारबाहीको लागि संसद्मा समेत निवेदन दिने तयारी गरेका छन् ।
गोदावरी ४ तेघरीमा प्रदेश सातको स्थायी राजधानी बनाउने प्रस्तावको विरुद्धमा र धनगढी नै स्थायी राजधानी हुनुपर्ने माग गरी नेपाली कांग्रेस निकट युवाहरुले गरेको प्रदर्शनको नेतृत्व गर्दै मेयर वडले बुधबार संसद भवन अगाडि सो अभिव्यक्ति दिएका थिए ।
मेयर वड मलेसिया भ्रमणका लागि आजै काठमाडौं पुगेका छन् । उनी आजै मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ ।
संसदहरुको उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आफ्नो च्यानलबाट वड विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने र सुरक्षा व्यवस्था मिलाउने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार