२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसले धनगढी र नेकपाले गोदावरी राजधानी प्रस्ताव




धनगढी । प्रदेश सातको नाम र राजधानीका लागि दुई वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
प्रदेशको नाम र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिले प्रतिवेदनमा आजको संसद बैठकपछि सो प्रस्तावहरु दर्ता भएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका सचेतक तारा लामा तामांगले प्रदेशको नाम सुदूरपश्चिम कायम हुने गरी प्रदेशको स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ अन्तर्गत तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी (धनगढी–डडेल्धुरा सडक) सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिण, यति चार किल्ला भएको हाल ससाना बुट्यान मात्र भएको र स्थायी राजधानीका लागि पर्याप्त सार्वजनिक जग्गा रहेको क्षेत्रलाई कायम गरियोस् भनि प्रस्ताव दर्ता गएका छन् । उनको प्रस्तावमा प्रदेश सांसदहरु विरमान चौधरी र शान्ति नेपाली समर्थक बसेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद डिल्लीराज पन्तले प्रदेशको नाम सुदूरपश्चिम प्रदेश कायम हुने गरी प्रदेशको स्थायी राजधानी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १ धनगढी भन्ने स्थानलाई प्रदेश राजधानी कायम गरियोस भनि प्रस्ताव दर्ता गरेका छन् । उनको प्रस्तावलाई कांग्रेसकै प्रदेश संसद नन्दाकुमारी बमले समर्थन गरेकी छन् ।
प्रदेशसभाको आजको बैठकपछि साँझ ५ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गर्ने समय तोकिएको थियो । तर संसदहरुले प्रस्ताव दर्ताका लागि थप समय मागेपछि सभामुख अर्जुनबहादुर थापाले साढे ५ बजेसम्म (आधा घण्टा) समय थप गरेका थिए । थप समयको अन्तिम पलमा दुबै प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार